+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग कमजोर बनाइयो: सञ्चारमन्त्री तिमिल्सिना

पालिका लाइभ
२०८३ जेष्ठ ३०, शनिबार

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने बताए।

लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था, साहित्यिक तथा सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताए।

उनले भने, ‘सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो। त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ। आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ।’

विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्थाहरू कमजोर बन्न पुगेको उनको भनाइ थियो ।

अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताए।

उनले थपे, ‘अब सुधार कसरी गर्ने भन्ने सवालमा सरकार जिम्मेवार र जबाफदेही बन्छ। यसमा सबै क्षेत्रको साथ आवश्यक छ । संस्थाहरू पनि नयाँ बल, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको देख्न पाइयोस् भन्ने अपेक्षा छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ