काठमाडाैं– सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन परिपत्र गरेको छ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायलाई परिपत्र गरेको छ।
प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारीले पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी भएसँगै निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भएको जनाइएको छ। जुन दफामा ट्रेड युनियनसम्बन्धी व्यवस्था रहेको थियो।
मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न भनेको छ। यससँगै ट्रेड युनियन र त्यसमा आबद्ध कर्मचारीले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्तिको उपयोग गरेको भए फिर्ता लिन भनिएको छ।
यससँगै ट्रेड युनियनको नेतृत्वमा रहेका कर्मचारीलाई पनि तोकिएको दरबन्दी अनुसार काममा खटाउन निर्देशन दिइएको छ। ‘ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनुहुन मिति २०८३ वैशाख २२ को सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

प्रतिक्रिया