काठमाडौं– मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ।
तीमध्ये गृह मन्त्रालयअन्तर्गत कार्यरत १३ जना सहसचिवलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ। सरुवा हुनेमध्ये ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत परेका छन्।
गृह मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा हुने सहसचिवहरूमा गोपालप्रसाद अर्याल, डा. टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिजाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र रहेका छन्।
यीमध्ये डा. पाण्डेय लमजुङ, कल्पना श्रेष्ठ खोटाङ, सुनिता नेपाल इलाम, नेत्रप्रसाद सुवेदी सल्यान, नारायणप्रसाद रिजाल दोलखा, बन्धुप्रसाद बास्तोला सिन्धुपाल्चोक, कृष्णप्रसाद लम्साल नवलपरासी पश्चिम र धर्मेन्द्रकुमार मिश्र बारा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ।
निर्वाचनका क्रममा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र निर्वाचनको वातावरण निर्माण गर्ने प्रमुख जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुने गर्दछ। तर मन्त्रिपरिषद्ले एकैपटक ८ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि चार दिन बितिसक्दा समेत ती जिल्लामा नयाँ सह-सचिवलाई जिम्मेवारीसहित खटाइएको छैन।
गृह मन्त्रालयबाट सरुवा हुने अन्य सहसचिवहरूमा कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजाल पनि छन्। यसैगरी अतिरिक्त समूह जगेडामा रहेका सहसचिव शंकरहरि आचार्य, गोपालप्रसाद अर्याल र खिमबहादुर रायमाझीको पनि सरुवा गरिएको छ।
सरुवाको क्रममा गृह मन्त्रालयबाट १३ जना सहसचिव बाहिरिँदा ७ जना सहसचिव भित्रिएका छन्।
बिहीबारकै निर्णयअनुसार अन्य मन्त्रालय तथा निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल गृह मन्त्रालयमा सरुवा भई आएका छन्।
प्रतिक्रिया