काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तहमा कायम रहेको ‘निमित्त’ अभ्यास अन्त्य गर्ने उद्देश्यले बिहीबार एकैदिन २१९ हाकिम सरुवा गरेकी छिन् ।
बिहानैदेखि मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखामा चाप बढेको दिनमा उनले गरेको निर्णयलाई प्रशासनिक सुधारतर्फको साहसिक कदमका रूपमा हेरिएको छ ।
मन्त्री न्यौपानेले पदभार सम्हाल्दा देशभर करिब २ सय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । स्थानीय सरकारको नेतृत्व दिगो बनाउन उनले महाशाखा प्रमुखहरूलाई तयारी गर्न निर्देशन दिएकी थिइन् । त्यसअनुसार करिब एक साताभित्रै करिब ३ सय कर्मचारीको सूची तयार गरिएको थियो । सोही आधारमा बिहीबार मात्रै १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतलाई सरुवा गरिएको हो ।
मन्त्रालयका उच्च अधिकारीका अनुसार १२२ जना उपसचिवमध्ये १०५ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा तोकिएको छ भने ९७ जना शाखा अधिकृतमध्ये ८६ जनालाई गाउँपालिकामा जिम्मेवारी दिइएको छ । यससँगै दरबन्दी अनुसार उपसचिव र शाखा अधिकृत रहेका स्थानीय तहमा अब ‘निमित्त’ प्रणाली अन्त्य भएको मन्त्रालयको दाबी छ ।
तर सहसचिव दरबन्दी भने अझै खाली छ । हाल ६ महानगरपालिकामध्ये ५ वटामा मात्रै सहसचिव कार्यरत छन् भने ११ उपमहानगरमध्ये दुई वटामा मात्र सहसचिव पुगेका छन् । बाँकी १ महानगरपालिका र ९ उपमहानगरपालिकामा सहसचिव पद अझै रिक्त रहेका कारण ती स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव कायमै छ ।
मन्त्री न्यौपानेको यो निर्णयले लामो समयदेखि चल्दै आएको ‘निमित्त’ प्रथालाई रोक्ने अपेक्षा गरिएको छ । तर सहसचिव दरबन्दी पूर्ति नभएसम्म स्थानीय सरकारको प्रशासनिक नेतृत्व पूर्णरूपमा सुदृढ नहुने देखिन्छ ।
प्रतिक्रिया