+
Search

ताजा अपडेट +

पपुलर +

डेटलाइन फागुन २१:

चर्चित निर्वाचन क्षेत्र: नवलपरासी पश्चिम- १ को चुनावी गणित, विनोद चौधरीलाई एमाले र रास्वपाको चुनौती

पालिका लाइभ
२०८२ माघ २६, सोमबार

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेका निर्वाचन क्षेत्रमध्ये लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ पनि एक हो। नेपाली कांग्रेसका नेता विनोद चौधरी पुनः उम्मेदवार बनेपछि यो क्षेत्र थप चर्चामा आएको हो।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता गाउँपालिकाका सबै वडा, प्रतापपुर गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएका छन्।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा यस पटक मतदान गर्न सक्ने कुल मतदाता संख्या १ लाख २३ हजार ८० रहेको छ। यस निर्वाचनका लागि यहाँ १४८ मतदान केन्द्र तोकिएका छन्।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका थिए। उनले २९ हजार ५१९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा रहेका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए। त्यसैगरी रास्वपाका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। जनमत पार्टीका गुलावप्रसाद चौधरीले ५ हजार ९५२ र राप्रपाका भोजराज ढकालले ४ हजार ८२५ मत प्राप्त गरेका थिए।

२०७९ सालको समानुपातिक मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी २३ हजार ५१५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार १७२ मत पाएको थियो। त्यसैगरी रास्वपाले १० हजार ७१८, जनमतले ७ हजार ७१४ र राप्रपाले ६ हजार ४७७ मत प्राप्त गरेका थिए।

यस निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल २६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। नेपाली कांग्रेसबाट पुनः विनोद चौधरी उम्मेदवार बनेका छन् भने एमालेबाट रामप्रसाद पाण्डेय उम्मेदवार बनेका छन्। रास्वपाले कांग्रेसका पूर्व नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ। नेकपाबाट सिन्धु जलेसा बुढाथोकी र राप्रपाबाट नवनीत कुमार मिश्र उम्मेदवार बनेका छन्। हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् भने जनमत पार्टीले गणेशबहादुर चौधरीलाई उम्मेदवार बनाएको छ।

यस पटक सबै दलले अलग–अलग रूपमा चुनाव लडेकाले अघिल्लो निर्वाचनको आधारमा मात्रै नतिजा अनुमान गर्न कठिन देखिन्छ। कांग्रेसका विक्रम खनाल अघिल्लो निर्वाचनमा विनोद चौधरीलाई सहयोग नगरेको आरोपमा कारबाहीमा परेका थिए। पछि कारबाही फिर्ता लिए पनि उनी अहिले रास्वपाबाट उम्मेदवार बनेका छन्। त्यस्तै, अघिल्लो निर्वाचनमा एमालेको समर्थनमा उम्मेदवार बनेका हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन्। यस पटक एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

यसरी हेर्दा यस क्षेत्रमा प्रतिस्पर्धाको केन्द्रमा कांग्रेसका विनोद चौधरी देखिन्छन् र उनलाई विभिन्न दलबाट चुनौती दिने प्रयास भइरहेको छ। अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामलाई आधार मान्दा कांग्रेस यहाँ केही बलियो देखिन्छ।

तर यस पटक देशभर देखिएको रास्वपाको लहर तथा कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम खनालले कति प्रभाव पार्छन् भन्ने पनि चासोको विषय बनेको छ। अघिल्लो निर्वाचनमा उनले चौधरीलाई असहयोग गरेको चर्चा रहेकाले यस पटक पनि चौधरीलाई ठूलो असर पार्न नसक्ने स्थानीय विश्लेषण रहेको पाइन्छ। साथै, यस क्षेत्रमा तुलनात्मक रूपमा कमजोर जनाधार रहेको जसपा नेपालबाट उम्मेदवार बनेका हृदयेश त्रिपाठी प्रतिस्पर्धामा कमजोर देखिने आँकलन गरिएको छ।

समग्रमा हेर्दा यस क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ, जसमा विनोद चौधरी बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ