काठमाडौं- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि हतार गर्न नहुने सुझाएका छन् ।
उनले नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्दा सिंगो पार्टीलाई नै गराउनुपर्नेमा जोड दिएका छन् ।
एकताबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को बुधबारदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने पनि बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो । तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’
हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने उनको भनाइ छ ।
श्रेष्ठले यसका लागि धैर्यतापूर्वक प्रयत्न गर्नुपर्नेमा जोड दिँदै हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुन आग्रह गरेका छन्।
माओवादी र नेकपा (एकीकृत समाजवादी)को पार्टी एकता प्रक्रियालाई पनि समग्र कम्युनिस्ट आन्दोलनले मागअनुसार नै हेर्नुपर्ने उनको तर्क छ ।
‘तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ’, उनले लेखका छन् ।
							
							
							
							
							
							
							
				
					
					
					
					
					
					
					
					
					
                
                
                
                
                
                
                
                
                
        
        
														
        
        
        
        
										
										
										
प्रतिक्रिया