काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ राजनीतिक दलबिच एकता गर्ने सहमति भएको छ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको आठ दलका नेता सम्मिलित बैठकपछि सहमति पत्रमा हस्ताक्षर भएको माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
विभिन्न १८ बुँदामा सहमति भएको छ। १९ गते काठमाडौंमा ८ दलबिच राष्ट्रिय एकता सम्मेलन गर्ने सहमति भएको एकीकृत समाजवादीका सचिव शेरबहादुर कुँवरले बताए। नयाँ पार्टीको नाममा भने सहमति जुटेको छैन।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, ने. क. पा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी ने.क.पा (माओवादी-समाजवादी) र ने.क.पा. (साम्यवादी) का बिचमा पार्टी एकताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हुने उल्लेख छ।
‘पार्टीको तात्कालिक कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ,’ सहमति पत्रमा उल्लेख छ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन गर्ने तयारी छ।
६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने छ।
‘केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ,’ सहमतिमा उल्लेख छ।

प्रतिक्रिया