+
Search

ताजा अपडेट +

पपुलर +

डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने ६ वटा उद्योगको लाइन काटियो

पालिका लाइभ
२०८२ कार्तिक ४, मंगलवार १०:५९ गते

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको छ। लक्ष्मीपूजाको भोलिपल्ट मंगलबार बिहानदेखि ६ वटा उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

लाइन काटिएका उद्योगहरूमा जगदम्बा स्टिल्स, रिलायन्स स्प्रिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्।

प्राधिकरणले उद्योगीहरूलाई कात्तिक २ गतेसम्म बक्यौता बुझाउन अन्तिम म्याद दिएको थियो। बक्यौता रकम किस्ताबन्दीमा तिर्न २८ किस्ताको सुविधा पनि दिइएको थियो। यसबीच केही उद्योगहरूले रकम तिर्न सुरु गरे पनि केहीले किस्ताबन्दीमा समेत आनाकानी गरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ।

जगदम्बा स्टिल्सको १ अर्ब ६० करोड, रिलायन्स स्प्रिङ मिल्सको ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको छ। यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको अतिरिक्त महसुल हो।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता रकम तिरेपछि तुरुन्तै लाइन पुनः जडान गरिनेछ। उनले भने, ‘बिदाको दिन पनि हाम्रो काउन्टर खुला छ। उद्योगीहरूले आएर बक्यौता तिर्न सक्छन्, पैसा तिरेपछि हामी तुरुन्तै लाइन जोडिदिन्छौं।’

उनका अनुसार किस्ताबन्दीको सुविधा लिएर पहिलो किस्ता बुझाएमा जुनसुकै बेला काटिएको लाइन पुनः सञ्चालनमा ल्याइनेछ।

यसअघि बक्यौता तिर्ने समय नजिकिँदै गर्दा केही उद्योगीहरूले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी रकम नतिर्नका लागि लबिङ गर्ने प्रयास गरेका थिए। तर, कार्कीले उनीहरूलाई भेट्न अस्वीकार गरेकी थिइन्।

प्राधिकरणका अनुसार हालसम्म डेडिकेटेड र ट्रंक लाइनको कुल बक्यौता सवा ८ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ