+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको एसएसई फेलोसिप, सामाजिक प्रभाव पारेका उद्यमलाई आवेदन खुल्यो

पालिका लाइभ
२०८२ कार्तिक १७, सोमबार १०:३३ गते

काठमाडौं– नबिल बैंकको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (एनएसएसइ) कार्यक्रमले छैटौँ चरणको फेलोसिपका लागि आवेदन आह्वान गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिबी निवारण र समावेशितालाई दिगो बनाउने उद्यमीहरूलाई लक्षित गर्दै यो संस्करण सुरु गरेको हो। यसअघि बैंकले पाँच वटा फेलोसिप कार्यक्रम सञ्चालन गरिसकेको छ, जसबाट ७६ जना उद्यमीले आवश्यक वित्तीय र प्राविधिक सहयोग प्राप्त गरिसकेका छन्।

छैटौँ संस्करणका लागि कात्तिक २८ गतेसम्म आवेदन खुला रहनेछ। बैंकले प्रत्येक संस्करणमा २० जना उद्यमीलाई फेलोसिप प्रदान गर्दै आएको छ।

नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको प्रमुख पहलका रूपमा सुरु गरिएको यो कार्यक्रमले सामाजिक प्रभाव सिर्जना गरिसकेका वा गर्ने सम्भावना भएका, गरिब र पछाडिएका समुदायको जीवनस्तर सुधार्ने उद्यमीहरूलाई प्राथमिकता दिनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका र दुर्गम क्षेत्रका आवेदकहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ।

कार्यक्रम कार्य-आधारित सिकाइमा केन्द्रित छ, जसले उद्यमशील सीप, व्यापारिक बुझाइ र सामाजिक प्रभाव क्षमताको विकासमा जोड दिन्छ। बैंकका अनुसार यसले नवप्रवर्तनात्मक र गरिबी सम्बोधन गर्ने विचारहरूलाई मञ्च प्रदान गर्दै सामाजिक उद्यमीहरूलाई नेतृत्व र समाधानमुखी सोचमा प्रोत्साहित गर्ने लक्ष्य लिएको छ।

फेलोसिप ६ महिनाको आवासीय कार्यक्रम हो, जसमा सहभागीले निःशुल्क बसोबास, व्यवहारिक तालिम, फिल्ड भिजिट, विज्ञ परामर्श, नेटवर्किङ र सह–सिकाइको अवसर पाउनेछन्। उनीहरूले छ महिनाको शैक्षिक अनुभवका साथ एक वर्षको व्यक्तिगत परामर्श पनि प्राप्त गर्नेछन्। सत्रहरू उद्यमशीलता, वित्त, सामाजिक प्रभाव र सामुदायिक विकासका विज्ञ र शैक्षिक व्यक्तिहरूद्वारा सञ्चालन गरिनेछन्।

हालसम्मका पाँच संस्करणमार्फत ७६ जना सामाजिक उद्यमीले तालिम लिई ६२ वटा उद्यम स्थापना गरेका छन्। ती उद्यमहरूले १ हजार १७२ प्रत्यक्ष र १३ हजार २९५ अप्रत्यक्ष रोजगारी सृजना गरेको बैंकको दाबी छ।

फेलोसिपका लागि कृषि र भ्यालु–चेन, हस्तकला र परम्परागत उद्योग, हरित ऊर्जा, वातावरणीय समाधान, सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, सीप विकास, रोजगारी सृजना, सांस्कृतिक पर्यटन र स्थानीय उद्यम प्रवर्द्धन जस्ता क्षेत्रमा संलग्न उद्यमीले आवेदन दिन सक्नेछन्। योग्य फेलोहरूले बैंक, सरकार र साझेदार संस्थाहरूको लगानीमार्फत वित्तीय सहयोग प्राप्त गर्ने अवसर पाउनेछन्।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको फेलोसिपको पाँचौँ संस्करणका सहभागी सचिन चापागाईँले कार्यक्रमले आफ्नो संस्थाको रणनीतिक लक्ष्य हासिल गर्न ठुलो सहयोग पुगेको बताए। उनका अनुसार फेलोसिपले व्यवसाय सुरु गर्न आवश्यक आधारभूत ज्ञान, नेटवर्किङ, मार्केटिङ, रणनीति र योजना बनाउने सीप सिक्ने अवसर प्रदान गर्छ।

चापागाईँले हेल्थ–टेक स्टार्टअप प्रस्तुत गरी फेलोसिपमा छनोट पाएका हुन्। उनले विकास गरेको ‘फार्मेसी म्यानेजमेन्ट एप’ हाल नेपालभर एक हजारभन्दा बढी फार्मेसीले निःशुल्क प्रयोग गरिरहेका छन्। उनका अनुसार, ‘फेलोसिपपछि व्यावसायिक सोच र आत्मविश्वास दुवै स्तरमा वृद्धि भएको छ।’

उनले थपे, ‘लगानीकर्तासँग सम्पर्क, स्थापित व्यवसायीहरूबाट मेन्टरसिप र नेटवर्क विस्तारले मेरो व्यवसायलाई नयाँ दिशा दिएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics