+
Search

ताजा अपडेट +

पपुलर +

अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ

पालिका लाइभ
२०८२ कार्तिक ९, आईतवार १२:५८ गते

काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू सुध्रिन तयार भएको बताएका छन् ।

देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले भने, ‘तपाईँहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

‘ल हिजो जे भयो–भयो, आफैँले बाटो बिर्सियौँ । सबैले भुल्यौँ । अब त कमसेकम देश जोगाउने, त्यो भुङ्ग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔँ,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईँहरूले गाली गर्दै गर्दा पनि यहाँ आएँ,’ सम्पादकहरू समेत सहभागी कार्यक्रममा प्रसाईँले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँले गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्रेर ल्याएको थियो ।

सो घटनापछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उनलाई उच्च अदालतले छाड्ने आदेश दिएको थियो । अहिले उनले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै दुर्गा प्रसाईँलाई वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईँले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईँले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ