+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

पालिका लाइभ
२०८२ कार्तिक ७, शुक्रबार १७:०३ गते

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कात्तिक ३० अघि नै एकता गरी आगामी निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने तयारी गरेका छन् । दुई दलबीच एकताको अन्तिम गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

वार्ता टोलीका सदस्यहरूका अनुसार हालसम्मको प्रगतिमा कुनै ठुला अवरोध नभएकाले अब एकता टुट्ने सम्भावना छैन । दुवै दल आफ्ना राजनीतिक भविष्य र निर्वाचन तयारीका कारण पनि मिलेर जाने निष्कर्षमा पुगेका छन् ।

माओवादीभित्र एकता प्रति सैद्धान्तिक असहमति छैन भने समाजवादीभित्रका केही वरिष्ठ नेताहरू, विशेष गरी झलनाथ खनाल पक्षले केही विमति राखे पनि ती मतभेद चाँडै समाधान हुने दुवै दलका नेताहरूको दाबी छ ।

दुवै पार्टीले कम्युनिस्ट विचारधारालाई साझा आधार मानेका छन् ।

सहमति अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ । माओवादीले उठाउँदै आएको माओवाद र समाजवादीले अघिल्ला चरणमा प्रवर्द्धन गरेको जनताको बहुदलीय जनवाद भने रहने छैन । दुवैले लोकतान्त्रिक प्रणालीलाई आधार मानेर वैज्ञानिक समाजवाद र नेपाली विशेषताको समाजवादलाई वैचारिक कार्यदिशा बनाउने सहमति गरेका छन् ।

उनीहरूका अनुसार नेपाल अहिले पुँजीवादी समाज हो र यसको मुख्य अन्तरविरोध जनतासँग नभई दलाल नोकरशाही पुँजीवादसँग रहेको उनीहरूकाे तर्क छ।

संगठनात्मक रूपमा दुवै दलमा करिब एकरूपता छ । एकीकृत पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयता कायम राख्नेछ । नेतृत्वको स्वरूपबारे भने अन्तिम सहमति बाँकी छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत धेरै पद घटाएर कार्यक्षम मोडल बनाउने तयारी छ ।

प्रचण्ड र माधवकुमार नेपाल दुवै संरक्षक वा संयोजकका रूपमा रहने प्रस्तावमाथि छलफल भइरहेको छ । मुख्य कार्यकारी भूमिका रहने सचिवालय मोडलतर्फ झुकाव देखिएको छ । एक नेताका अनुसार, अबको पार्टी नयाँ परिस्थितिअनुसार चल्नुपर्नेछ र नेतृत्व विकास तथा हस्तान्तरणको वैज्ञानिक विधि अपनाउने तयारी भइरहेको छ ।

एकीकृत पार्टीको नामबारे ‘नेकपा समाजवादी’, ‘नेकपा’ वा ‘नेपाली कम्युनिस्ट पार्टी’ जस्ता विकल्पमाथि छलफल भइरहेको छ । ‘नेकपा समाजवादी’ नाम हाल राजु कार्की नेतृत्वको दलमा दर्ता भएकाले, सो दलसँग एकता गरेर त्यही नाम प्रयोग गर्ने वा ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम लिन सकिने विकल्प खुला छ । झन्डा कम्युनिस्ट पार्टीकै रूपमै रहनेछ भने चुनाव चिन्ह नयाँ लिने सम्भावना छ ।

माओवादीको गोलाकारभित्रको हँसिया–हथौडा र नेकपा एसको कलश चिन्हबीच सहमति खोजिँदैछ । सहमति नभए नयाँ साझा प्रतीक छनोट गरिनेछ ।

दुवै दलले अन्य कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई समेत एकीकृत पार्टीमा समेट्ने प्रयास गरिरहेका छन् । यस क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि संवाद भइरहेको स्रोतले जनाएको छ ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका कार्यकर्तालाई पुरानै पार्टीमा फर्किन आग्रह गरे पनि, यो अपिल ‘होच्याउने शैलीमा आएको’ भन्दै सम्भावना न्यून रहेको एक नेताले बताए ।

समाजवादीका अर्का नेताका अनुसार, कात्तिक ३० भित्र नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको हुनुपर्छ, त्यसैले अहिले अन्तिम निष्कर्षमा पुग्ने गृहकार्य तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ