काठमाडौं- कर्णाली याक्स स्पोर्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपीएलका लागि जर्सी सार्वजनिक गरिएको र यसलाई छिट्टै समर्थकमाझ वितरण गर्ने योजना रहेको जानकारी दिएका छन्।
नयाँ जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ, जसले कर्णाली प्रदेशको भौगोलिक विशेषता र सांस्कृतिक पहिचान झल्काउने बताइएको छ।
दोस्रो संस्करणका लागि कर्णाली याक्सले तयारी तीव्र पारेको छ। टोलीले आगामी नोभेम्बर ५ मा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ।
गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चलेको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
यस पटक पनि कर्णालीले प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ भने राजु बस्नेत टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक रहेका छन्।
टोलीले मार्की खेलाडीका रूपमा सोमपाल कामीलाई यथावत राख्दै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टमार्फत नेपाली क्रिकेटमा उदाएका खेलाडी हुन्।
विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशका खेलाडी हुन्।
त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ।
२९ वर्षीय वाटले स्कटल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् भने २९४ रन जोडेका छन्। एकदिवसीय क्रिकेटमा उनले ८२ खेल खेल्दै ११० विकेट हात पारेका छन्।
प्रतिक्रिया