काठमाडौं– यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आजको दिनमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै श्रद्धा र स्नेहका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्वलाई यमद्वितीया पनि भनिन्छ। सामान्यतया पाँच दिनको हुने तिहार यस वर्ष तिथि वृद्धि भएकाले छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
टीका समारोहमा दिदीबहिनीले दाजुभाइको पूजा गरी उनको कल्याणको कामना गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर सम्मान र माया प्रकट गर्छन्। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।
आज दिनभर टीका लगाउन कुनै वर्जना नभए पनि शुभ साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त सबैभन्दा उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए। यस वर्ष भाइटीका लगाउने बेला दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने पनि समितिले सुझाएको छ। यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने र शुभ कर्मका लागि चन्द्रमालाई दाहिने वा अगाडि पार्नुपर्ने धार्मिक नियम पूरा हुने बताइएको छ।
राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा समितिले उल्लेख गरेको छ।
भाइटीकाको पूजामा लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरिन्छ। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवी — मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम — साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणेश, नवग्रह र वनस्पत्यादि देवताहरूको आव्हान गरी पूजा गर्ने परम्परा छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको शिरमा तेलको धाराले टीका छेक्दै परम्परागत पञ्चरङ्गी (रातो, सेतो, पहेँलो, हरियो र नीलो) वा सप्तरङ्गी टीका लगाइदिन्छन्। मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिँदै दीर्घायु र समृद्धिको कामना गर्ने गरिन्छ।
शास्त्रीय रूपमा पाँच रङ्गका टीका मान्य भए पनि पछिल्ला वर्षहरूमा सप्तरङ्गी टीका लोकप्रिय हुँदै गएको धर्मशास्त्रविद् भट्टराई बताउँछन्।
टीका पश्चात् दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायत परिकार दिएर सत्कार गर्छन्। दाजुभाइहरूले पनि गच्छेअनुसारका सौगात, कपडा र दक्षिणा प्रदान गरी दिदीबहिनीप्रति सम्मान प्रकट गर्छन्।
दिदीबहिनी नहुनेहरूका लागि आजको दिन विशेष मानिन्छ। काठमाडौंको रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर वर्षमा यही दिन मात्र खुल्ने गर्छ, जहाँ दिदीबहिनी वा दाजुभाइ नभएकाले टीका लगाउने परम्परा छ। यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्ता भक्तजनको भीड लाग्ने गर्छ।
विसं २०३५ अघि रानीपोखरीभित्र प्रवेश गर्न पोखरीमा हामफाल्ने समस्या भएकाले त्यो बेला मन्दिर बन्द गरिएको थियो। त्यसपछि जयवागेश्वरीको खञ्जनेश्वर मन्दिरमा टीका लगाउने चलन बढेको थियो। हाल फेरि रानीपोखरीको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाको दिन खुल्ने परम्परा पुनः स्थापित भएको छ।
नेवार समुदायमा यो दिनलाई किजापूजा भनिन्छ। भक्तपुरका केही नेवार समुदायले भने यस वर्ष बुधवार नै किजापूजा सम्पन्न गरेका छन्। भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार त्यस दिन पूजाको साइत शुभ रहेको भन्दै पूजा अघि सारिएको भक्तपुर नगरपालिकाले जनाएको छ।
स्नेह, आस्था र पारिवारिक बन्धनलाई अझ गाढा बनाउने भाइटीका नेपाली समाजको अद्वितीय पर्व मानिन्छ। आज देशभरका दाजुभाइ र दिदीबहिनीबीच प्रेम, मायालु सम्झना र शुभकामनाका टीका साटासाट हुँदैछ।
प्रतिक्रिया