काठमाडौं- नेपालले अपराजित प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ ।
शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीका अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल तयार पारेको थियो। आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए। अन्त्यतिर लोकेश बमले ११ बलमा ३९ रनको विस्फोटक पारी खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे।
२१२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। सामोआका सिन सोलियाले सर्वाधिक ४० रन बनाए।
नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र पौडेलले समान १–१ विकेट लिए। सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले समान १–१ विकेट हात पारे।
यसअघि नेपालले सन् २०१४ मा आईसीसी डिभिजन–४ को उपाधि जितेको थियो। सन् २०२३ मा भएको विश्वकप छनोटमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुँदै उपविजेता बनेको थियो।
यस पटक नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो। सुपर सिक्समा नेपालले यूएईमाथि १ रन, कतारमाथि ५ रन र ओमानमाथि ३८ रनको जित निकाल्दै अपराजित यात्रा पूरा गरेको हो।
छनोट प्रतियोगिताबाट नेपालसँगै यूएई र ओमानले पनि आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपका लागि स्थान सुनिश्चित गरेका छन्
प्रतिक्रिया