गोरखा– लामो समयदेखि विवादमा परेको सिरानचोक गाउँपालिकाको केन्द्र अन्ततः वडा नं. ५ चित्रे पोखरीमै कायम हुने भएको छ। गाउँसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि गाउँपालिकाको केन्द्रबारेको बहस अन्त्य भएको छ।
२०७७ असार ३१ गते बसेको गाउँसभाले गाउँपालिकाको केन्द्र तत्कालीन वडा नं. ५ छोप्राक मैदानबाट सारेर सोही वडाको चित्रे पोखरीमा कायम गर्ने निर्णय गरेको थियो। गाउँसभाको निर्णयलाई तत्कालीन अध्यक्ष राजु गुरूङ, उपाध्यक्ष र गाउँकार्यपालिकाविरुद्ध चूडामणि पोखरेलसहित नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसबेला सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै केन्द्र सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।
त्यसकाे केहि समयमा नै चित्रेपाेखरीबाट नै सेवा कार्यालय सञ्चालन गरि गाउँपालिकाकाे कार्यालय हाल चित्रेपाेखरीमा नै कायम छ ।
तर लामो समयसम्म मुद्दा विचाराधीन रहेपछि आइतबार न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सबै दाबी खारेज गर्दै रिट नै खारेज गरिदिएको हो। यससँगै गाउँसभाले दुई तिहाइ बहुमतले गरेको केन्द्र चित्रे पोखरीमै रहने निर्णय सदर भएको छ।
याे पनि,
सिरानचोक गाउँपालिकाको केन्द्र ‘चित्रेपोखरी’
सर्वोच्चको निर्णयसँगै गाउँपालिकाको केन्द्र विवादमा नयाँ पाटो खुलेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरूङ बताउँछन्। जनप्रतिनिधिहरूले गाउँसभा र जनताको बहुमतलाई मान्यता दिएको सर्वोच्चको निर्णयले स्थानीय लोकतन्त्रको अभ्यास अझै मजबुत भएको उनकाे तर्क छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम गाउँसभाले केन्द्र तोक्ने अधिकार पाएको भए पनि अदालतमा मुद्दा परेपछि पाँच वर्षसम्म उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन। अब भने सर्वोच्चको अन्तिम आदेशले गाउँपालिकाको प्रशासनिक र विकास गतिविधि स्थायी रूपमा चित्रे पोखरीमै सञ्चालन हुने बाटाे खुला भएको छ।
निर्णयपछि गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले यसलाई जनमतको सम्मानका रूपमा लिएका छन्। उनीहरूका अनुसार, ढिलाइ भए पनि स्थानीय तहको अधिकारको कदर भएको छ र अब गाउँपालिकाको समृद्धितर्फ नयाँ यात्रा सुरु हुने विश्वास लिइएको छ।
प्रतिक्रिया