काठमाडौं– ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले ऐतिहासिक संयोग रचेको छ ।
पहिलो पटक महिला प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्न सफल भएकी छन् -गायिका जुनु प्रसाई ।
ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा सांगीतिक यात्रा सुरु गरेकी उनी हाल झापाको स्थायी वासिन्दा हुन् । रोजगारीका सिलसिलामा कतारमा रहे पनि आफ्नो सांगीतिक सपना नछाडेकी उनले अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा दमदार उपस्थिति जनाउँदै फाइनलसम्मको यात्रा तय गरेकी हुन् ।
बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपनसँगै मेहनत र प्रतिभाको मिठास झल्किन्छ । विद्यालय जीवनमै विभिन्न सांगीतिक कार्यक्रम र स्थानीय प्रतियोगितामा सक्रिय रहेकी उनी आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सक्षम भएकी छन् ।
नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजित हो, जहाँ २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक, गायिकाले सहभागिता जनाएका छन् ।
अडिसन राउन्ड १३ देशमा सम्पन्न भएकोमा जुनु कतार अडिसनमार्फत छनोट भई फाइनलमा पुगेकी हुन् ।
फाइनल प्रवेशपछि जुनु प्रसाईले दर्शक र शुभेच्छुकलाई यस्तो अपिल गरेकी छन् ‘नमस्कार, सेवा/सेवारो, म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई । तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा पुगेकी छु । यहाँसम्मको यात्रामा साथ दिने सबैजनाप्रति हार्दिक आभार व्यक्त गर्दछु । अझै केही सिँढी चढ्न बाँकी छ । मिहिनेत र संघर्षपछि बल्ल मेरा सपना उडान भर्न थालेका छन् । फाइनलसम्मको यात्रामा तपाईंहरूको अझ धेरै साथ, सहयोग र माया अपेक्षा गर्दछु ।’
प्रतिस्पर्धामा उनलाई विजयी बनाउन भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउन सकिन्छ, वा My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर भोट दिन सकिन्छ ।
							
							
							
							
							
							
							
				
					
					
					
					
					
					
					
					
					
                
                
                
                
                
                
                
                
                
        
        
														
        
					
				
        
        
        
										
										
										
										
प्रतिक्रिया