काठमाडौं- ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सांसद दीपक मनाङे भन्ने राजिव गुरुङलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ। मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेको हो।
आदेशसँगै मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। सर्वोच्चको आदेशसंगै मनाङे भने मोबाइल फोन समेत स्वीच अफ गरेर फरार भएका छन्।
पाटन अदालतले गुरुङलाई ५ वर्षको फैसला सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौंले ०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो। उता गुरुङ भने २ वर्ष कैदको फैसलापछि पनि जेलबाहिरै थिए।
सरकारको पुनरावेदनमा पाटन अदालतले २०६९ साउन २८ गते फैसला गर्यो। जिल्ला अदालतको फैसला केही उल्टी गर्दै तीन वर्ष कैद थप गरेर पुर्नरावेदन अदालतले ५ वर्ष कैद तोकेको थियो।
सर्वोच्चले थुनाबाहिरै रहेर सुनुवाई अगाडी बढाउन आदेश दिएपछि दुई पटक सांसदमा निर्वाचित भइसकेका मनाङे पटक पटक मन्त्री पनि बने। उनी मनाङबाट प्रदेश सभामा चुनिएका थिए। उनको क्षेत्रमा अरु उम्मेदवारी नै परेको थिएन।
सांसद चुनिएपछि माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए।
उनले आफू आबद्ध पार्टीको निर्णयविपरित प्रदेश सभामा विश्वासको मत दिँदा पनि कुनै कारबाही भएको थिएन।
६ वर्ष अघि डिल्लीबजार कारागारबाट सर्वोच्चले नै रिहा गर्न आदेश दिएका मनाङेलाई अहिले सर्वोच्चले उच्चकै फैसला सदर गरेसँगै पुनः जेल फर्किनु पर्ने निश्चित भएको हो। सर्वोच्चको फैसलापछि उनी टेलिफोन बन्द गरेर बसेका छन्।
उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको छ ।