रौतहट– सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाइकल बाहेक सवारी साधन वारिपारि आवत जावतमा रोक लगाइएको छ। सीमावासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्।
सीमावर्ती परोहा नगरपालिका-९, रामपुर खापमा आयोजित “सीमावासीसंग सशस्त्र प्रहरी”कार्यक्रम तथा अन्तरक्रियामा सहभागी सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त समस्या बारे जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल ११ नम्बर गण हेक्वा रौतहद्वारा आयोजना गरिएको सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरू गौर भन्सार पुगेर कारोबार गर्दा ठुलो समस्या हुने गरेको बताएका थिए।
उनीहरूले कतिपय साना व्यापारी गौर भन्सारसम्म पहुँच नभएको कारण बाध्य भएर अवैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौँ राजश्व क्षति हुने गरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालनतर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए।
त्यसै गरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोना कालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरु हुन सकेको छैन। सीमासँग जोडिएका हजारौँ परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजार माथि निर्भर रहेका छन्।
यस्तो अवस्थामा सहर बजारदेखि भारतीय आफन्तसँग २४औँ घण्टा सम्पर्कमा हुँदा आउँदा जाँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले विभिन्न बहानामा पटक पटक दुर्व्यवहार गर्ने गरेको सहभागीले पीडा पोखेको कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्।
छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्बाध रूपमा भारतबाट आवतजावत भइरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको थियो।
सहभागीहरूले सवारी आवागमन व्यवस्थापन, विवाह, पूजा तथा चाडँ पर्वमा आवश्यक सामान ल्याउन सहजिकरण, सीमा क्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए। उनीहरूले कुखुरा तथा पशुपन्छी तस्करी नियन्त्रण, निर्बाध भारतीय नम्बरको मोटरसाइकल आएर विभिन्न घटनाहरू घटाइरहेकाले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए।
सहभागीहरूले गरेको माग र सुझाव लाई राज्य सम्म पुर्याएर समाधानको पहल गर्ने एसपी हुमागाईँले प्रतिबद्धता जनाएका थिए।
अन्तरक्रिया कार्यक्रममा सीमा सहजिकरण समितिका पदाधिकारीहरू , वडा अध्यक्षहरू , स्थानीय समेत गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो।