काठमाडौं- नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकमाथि कारबाहीको गरेको छ। ग्राहकसँग बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकको कारबाहीमा एनआईसी एसिया बैंक परेको हो । पटक–पटक फिर्ता गर्न निर्देशन दिए पनि नगरेको पाइएको भन्दै एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
एनआईसी एसिया बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरणमाथि राष्ट्र बैंकको अध्ययन करिब सकेको छ । स्रोतका अनुसार केन्द्रीय बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ।
स्रोतका अनुसार बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा देखाएको छ । बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको छ।
जबकि, आवासीय कर्जामा अधिकतम २५ प्रतिशत प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकको छ। स्रोतका अनुसार एनआईसी एसिया बैंकले करिब ३२ अर्ब कर्जाको जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष पुगेको देखाएको छ। बैंकले वित्तीय विवरणमा ऋणको जोखिमभार मिलाउन ‘क्रेडिट रिस्क’ कम देखाउने गरी वासेल प्रतिवेदनमा तोडमोड गरेको छ ।
याे पनि,
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
बैंकको प्राथमिक पुँजीकोष अनुपात एउटा महिनामा पनि नपुगेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने भएकाले लाभांशकै लागि वासेल रिपोर्ट तोडमोड गरेको छ। यसअघि पनि दुई आर्थिक वर्षसम्म एनआईसी एसियाले लगानीकर्तालाई लाभांश दिन सकेको थिएन ।
बैंकिङ सुशासनमा कमजोर मानिए पनि ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेर आक्रामक बजार विस्तारमा एनआईसी एसिया लागेको थियो । बैंकिङ सुशासन, बैकिङ प्रणालीभन्दा पनि साहुकारिताको व्यवहार गर्न थालेपछि ठुला र व्यावसायिक समूहले एनआईसीसँगको कारोबारलाई अन्यत्र सार्दै गएका छन् । सुरुमा देशभर र ठाउँ ठाउँमा शाखा खोलेर आफ्नो उपस्थिति बलियो देखाए पनि बैंकिङ सुशासन कमजोर हुँदा सञ्चालन खर्च उच्च भएकाले भएका शाखा र कर्मचारीको भार थेग्न बैंकलाई हम्मे हम्मे परेको बताइएको छ।
शाखा संख्याअनुसार व्यापार नभएपछि करिब ५० वटा शाखा र एक्सटेन्सन काउन्टर बन्द गर्ने तयारीमा बैंक छ । शाखा बन्द गर्ने निर्णय विवादमा भएपछि बैंकले राष्ट्र बैंकमा शाखा बन्द गर्न सूचना नदिएको दाबी गरेको थियो । माघ २९ गते बैंकले प्रकाशन गरेको विज्ञप्तिमा ३६० शाखा र ११५ वटा विस्तारित काउन्टर र ६ सय ४५ वटा एटीएम रहेका छन् ।
एनआईसी एसिया बैंक प्रकरण सार्वजनिक भएपछि बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ भने पछिल्लो समय सेयर मूल्यमा पनि दोहोरो अंकले गिरावट आएको छ। पछिल्लाे ५२ हप्ताकाे सेयर मूल्य ८५२ रहेकाे एनआईसीकाे सेयर मूल्य निरन्तर घटिरहेकाे छ । जेष्ठ ४ गतेसम्म आउँदा बैंककाे सेयर मूल्य ३११ रहेकाे छ । पछिल्लाे ५२ हप्ताकाे मापनमा एनआईसीकाे सेयरमा ५५० हाराहारीमा घटेकाे छ ।
हालसालै बैंकद्वारा सार्वजनिक चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार एनआइसी एसिया बैंकमा अर्को संकट र समस्यामा देखिएको छ । प्रकाशित प्रतिवेदन अनुसार बैंकको नाफा ५२.३१ प्रतिशतले गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले ४ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा कमाएको एनआइसी एशिया बैंकले चालु वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो ।
बैंकका अधिकांश सूचकमा गिरावट रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ५६ लाख ४२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी चैत मसान्तमा ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड ८१ लाख ७० हजार रुपैयाँ रहेको छ । गत आवको चैत मसान्तसम्म ९ अर्ब ९ करोड २४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ३७.३१ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रुपैयाँ रहेको थियो ।
बैंकको कुल सञ्चालन आय ९.१७ प्रतिशते घटेर १० अर्ब ३० करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ११ अर्ब ३४ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको थियो । गत आवको चैत मसान्तमा ११ अर्ब १० करोड ६५ लाख ५४ हजार रुपैयाँबाट २६.५९ प्रतिशतले घटेर खुद सञ्चालन आय ८ अर्ब १५ करोड ३४ लाख १६ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब १.०२ प्रतिशत बिन्दुले बढेर १.७६ प्रतिशत रहेको छ । गत आवको नौ महिनामा ०.७४ प्रतिशत रहेको थियो । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ४७ पैसाले घटेर १७ रुपैयाँ २९ पैसा रहेको छ । गत आवको सोही अवधिमा ४७ रुपैयाँ ७६ पैसा रहेको थियो ।
यी सबै गलत अभ्यासका कारणले पनि बैंक थप संकटउन्मुख बन्दैछ । भविष्यमा बैंकको पनि सहकारीको हालतमा नपुगून् भनेर सर्वसाधारण बैंकमा निक्षेप निकाल्न आतुर छन् । हुनतः बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा एनआईसी एशिया बैंक अत्यन्त उत्कृष्ट भएको भन्दै निक्षेपकर्ताहरू आश्वासन त दिन खोजेको छ । तर, सर्वसाधारण नागरिकले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल विकास बैंक डुबेको बिर्सिएका छैनन् ।
प्रतिक्षा गर्नुहाेला-
ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’