पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मतमा सभामुख सहभागी भएको भन्दै नेपाली कांग्रेस पुनः अदालत जाने भएको छ ।
पत्रकार सम्मेलन गर्दै कांग्रेस गण्डकीले सभामुखको असवैधानिक र असंसदीय कदम चालेको भन्दै पुनः अदालत जाने बताएका हुन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्णप्रसाद धितालले संबिधान अनुसार निर्णायक अवस्थामा आफुले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुखले घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा देखाएको छ ।
एमालेका २२, माओवादीका ७ र एकजना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन् । यस्तै विपक्षमा कांग्रेसका २७ जनाले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसेका थिए ।
सभामुखले ३० मतलाई बहुमत घोषणा गरेपछि कांग्रेसका सांसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका हुन् ।
सभामुख धितालले निर्णायक अवस्थामा आफूले पनि मत हाल्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सोही आधारमा सङ्ख्या ३० नै भएपनि बहुमत पुगेको जिकिरसहित मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।