काठमाडौं– वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो । चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढेको हो । गत चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षका १० महिनामा अर्थात् वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
चालु आवको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालु आवको १० महिना अवधिमा खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । गत आवको सोही अवधिमा अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
त्यसैगरी चालु आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ ।
गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६ सय १० र २ लाख ८० हजार ३ सय १४ रहेको थियो ।
प्रतिक्रिया