गोरखा– भीमसेन थापा गाउँपालिकाभित्र रहेका निजी पक्की घर तथा सरकारी भवनहरूको बीमा गरिने भएको छ। यसका लागि गाउँपालिकाले सोमबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाको प्रशासनिक भवनको बीमा गरेर कार्यक्रमको सुरुवात गरिएको छ। अब सार्वजनिक सूचना जारी गरी इच्छुक घरधुरीबाट आवश्यक कागजातसहित आवेदन संकलन गरिनेछ।
वडास्तरमा संकलित आवेदनहरू बीमा कम्पनीमा पठाइने उनले बताए।
सम्झौताअनुसार प्रत्येक घर तथा भवनको अधिकतम चार लाख रुपैयाँसम्म बीमा गरिनेछ। विपद् वा अन्य क्षतिको प्रकृतिअनुसार पीडितले बढीमा चार लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ।
बीमामा इट्टा–सिमेन्टबाट बनेका ढलान घर तथा भूकम्पपछिका पुनर्निर्माण अन्तर्गत बनेका ढुङ्गा, इट्टा र माटोका घरहरू समावेश हुनेछन्। तर काठ, टिन वा माटोबाट बनेका पूर्ण अस्थायी घर, बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने घर, ऐलानी जग्गामा बनेका संरचना तथा सडक मापदण्डभित्रका घरहरू भने बीमाको दायरामा नपर्ने जनाइएको छ।
गाउँपालिकाले वार्षिक सम्पत्ति करस्वरूप प्रत्येक घरधुरीबाट न्यूनतम २५० रुपैयाँ उठाउँदै आएको छ। सोही रकमबाट घर तथा भवनहरूको बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।
विपद्जन्य घटनाबाट घरहरूमा हुने क्षतिको आर्थिक भार कम गर्ने उद्देश्यले बीमा कार्यक्रम अघि बढाइएको गाउँपालिकाको भनाइ छ। ‘पालिकाले आफैँ क्षतिपूर्ति उपलब्ध गराउँदा ठूलो रकम आवश्यक पर्ने भएकाले बीमा कम्पनीसँग सहकार्य गरिएको हो,’ अधिकारीले बताए।
बीमा सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका जोखिमांकन विभाग प्रमुख निरञ्जन आचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौताको अवधि एक वर्षको रहनेछ भने आवश्यकता अनुसार थप गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया