+
Search

ताजा अपडेट +

पपुलर +

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

पालिका लाइभ
२०८२ चैत्र ९, सोमबार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पताल भवन अलपत्र पार्ने ठेकेदारविरुद्ध कडा कदम चालेको छ। नगरपालिकाले ठेकेदारको सवारीसाधन नै नियन्त्रणमा लिएर काम अघि बढाउन दबाब सिर्जना गरेको हो।

नगरपालिका–७ महादेवस्थान (हलेसी) मा निर्माण भइरहेको आधारभूत अस्पतालको भवन लामो समयदेखि अधुरो अवस्थामा रहेको छ। उक्त परियोजनामा संलग्न निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो।

नगरप्रमुख विमला राईका अनुसार निर्माण कम्पनीले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर काम सुरु नगरेसम्म गाडी, चाबी र सवारी दर्ता प्रमाणपत्र नगरपालिकाको नियन्त्रणमै रहनेछ।

नगरप्रमुख राईले निर्धारित समयमै सम्पन्न हुनुपर्ने अस्पताल निर्माणमा चरम ढिलासुस्ती भएको बताइन्। २०८० सालमै सम्पन्न भइसक्नुपर्ने १५ शय्याको अस्पताल भवनको पहिलो चरणसमेत पूरा नभएको र पटक–पटक ताकेता गर्दा पनि प्रगति नभएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ। यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ।

चैत ८ गते नगरप्रमुख राईले चालकलाई कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराएकी थिइन्। साथै, निर्माण कम्पनीलाई चैत १२ गतेदेखि काम पुनः सुरु गर्ने प्रतिबद्धता गराइएको छ। नगरपालिकाका अनुसार अब ठेकेदारले ४५ दिनभित्र बेसमेन्ट कभर स्ल्याब ढलान, त्यसपछि ६० दिनभित्र पहिलो तला र अर्को ६० दिनभित्र दोस्रो तला ढलान सम्पन्न गर्नुपर्नेछ। तोकिएको समयसीमा पूरा नगरे कानुनी कारबाही भोग्नुपर्ने सर्तमा लिखित प्रतिबद्धता लिइएको नगर प्रवक्ता कमल गिरीले बताए।

ठेकेदार लामो समयसम्म सम्पर्कविहीन भएपछि नगरपालिकाले ‘ब्ल्याकलिस्ट’मा राख्ने चेतावनी दिएको थियो। त्यसपछि मात्र निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा आएको हो। उक्त कम्पनीसँग २०७८ साउन ८ गते सम्झौता भई २०८० साउन ८ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि भवनको काम जगमात्रै सीमित रहेको छ।

निर्माण कम्पनीले चार करोड ११ लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको भए पनि काम भने अगाडि बढाउन सकेको छैन। कम्पनीले भने भौगोलिक कारणले डिजाइन परिवर्तन गर्नुपर्ने र मन्त्रालयबाट स्वीकृति ढिलो भएकाले काम प्रभावित भएको दाबी गर्दै आएको छ।

सरकारको नीति अनुसार चार वर्षअघि खोटाङका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु गरिएको थियो। जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी, ऐँसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैपटक अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कतिपय स्थानमा १५ शय्या, कतिपयमा १० र केहीमा पाँच शय्याका अस्पताल निर्माण गर्ने योजना बनाइएको थियो।

रासस

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ