+
Search

ताजा अपडेट +

पपुलर +

धादिङका १३ स्थानीय निकायले भने– संविधान विपरीत सांसदको निर्देशन मान्दैनौँ

फाइल तस्बिर
पालिका लाइभ
२०८२ चैत्र ५, बिहीबार

काठमाडौं– सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति धादिङका १३ वटै पालिकाले आपत्ति जनाएका छन् ।

जिल्लाका स्थानीय तहका प्रमुख, अध्यक्ष एवं उपप्रमुख, उपाध्यक्षहरूको संयुक्त बैठकले स्थानीय तहको संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । साथै कडा प्रतिवादको चेतावनी पनि दिइएको छ ।

नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको नेतृत्वमा बसेको बैठकले नेपालको संविधान २०७२ को धारा २३३ (१) बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता व्यक्त संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

संयुक्त विज्ञप्तिमा नवनिर्वाचित सांसद तामाङले संविधान एवं कानूनविपरीत जारी भएका निर्देशन र जिल्ला प्रशासन कार्यालयका तर्फबाट चैत ३ गते पालिकामा प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित गरी प्रशासनमार्फत अंकूश लगाउने प्रयासका रूपमा व्याख्या गरिएको छ ।

संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई गर्दै अगाडि बढ्न संघ तथा प्रदेश सरकार र मातहतका निकायको ध्यानाकर्षण गराउँदै सहकार्य, समन्वय र सहअस्तित्वलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न जनप्रतिनिधिहरूको अनुरोध छ ।

आशिकाले स्थानीय तहले उठाउँदै आएको कर खारेज गर्न सामाजिक निर्देशन दिएकी थिइन् । ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर लिन न्यायोचित नहुने भन्दै उनले मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी थिइन् । कसैले उठाएको थाहा पाए कारबाहीको दायरामा ल्याउने उनको चेतावनी थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ