काठमाडौं- काठमाडौं महानगरपालिकाले ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।
डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्या रहेको कामपा विभागका प्रमुख ढकालले जानकारी दिए ।
विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो ।
फागुन १३ र १४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजना गरेको बैठकमा उनले प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी इहाजिरीको काम तत्काल सक्न आग्रह गरे ।
विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ ।
चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा चार वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ । तेस्रो चरणमा २३ वटा विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको छ ।
विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई लक्षित गरी पहिलो चरणमा छ वटा र दोस्रो चरणमा पाँच गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ । यसबाहेक अन्य विद्यालयहरूले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने भएको छ ।
विभागले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसारको शिक्षक विद्यालयहरूमा व्यवस्थापन गर्ने तयारी छ ।
प्रतिक्रिया