+
Search

ताजा अपडेट +

पपुलर +

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस्: चन्द्र ढकाल

पालिका लाइभ
२०८२ माघ ८, बिहीबार

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरे ।

उनले भने– मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेन्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेन्डाहरूलाई दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरूलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई पहिलो प्राथमिकता दिनुहोला ।

देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा उद्योगधन्दा कलकारखानाको समुचित विकास गरी औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेन्डाले प्राथमिकता पाउनु जरुरी रहेको उनले सुझाव दिए ।

हिजो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका कारण आजको अवस्था आएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनहरू पनि त्यति सहज नरहेका र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए ।

उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात् गर्नुपर्ने सुझाव पनि दिए ।

मुलुकको आर्थिक अवस्थाको यथोचित वृद्धि भयो भने मात्र मुलुकमा सुशासन कायम भई समृद्धि आउने र यसका लागि सबै राजनीतिक दलले आर्थिक एजेन्डालाई साझा एजेन्डाका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ