काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए ।
घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो । मिडियामा आएका पदको बार्गेनिङ गरेको भन्ने कुरा सरासर गलत भएको उनले दाबी गरे ।
‘हामीले सहमतिको चरणमा र हाम्रा साथीहरूको ठुलो डिमान्ड पनि राखेका थिएनन्,’ घिसिङले भने, ‘मिडियामा पदको बार्गेनिङ गर्यौँ भन्ने कुरा सरासर गलत हो । म उपाध्यक्ष भए पनि वरीयता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ । म साधारण रास्वपाको सदस्य भएर । यो विषय ठुलो पनि थिएन ।’
उनले मुख्य मुद्दाका रूपमा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा रास्वपा सुरुमा सहमत भए पनि पछि त्यसबाट पछि हटेको गुनासो गरे ।
चुनावी प्रक्रियामा कसरी जाने भन्नेमा लामो छलफल भए पनि रास्वपाले १२ दिन लामो समय लिएको र समानुपातिकतर्फ पनि निर्णय गर्न ढिलाइ गरेको घिसिङले बताए । ‘हामीले सबै त्यागेर अगाडि बढ्नुस् भनेर छाडेका थियौँ,’ उनले भने, ‘यो १२ दिनको लामो समयले उज्यालो नेपाललाई धेरै क्षति पुग्यो ।’
उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म इंगेज गराएर राखेको र सोही अवधिमा उज्यालो नेपालका धेरै साथीहरूलाई रास्वपाका प्रवेश गराएको आरोप लगाए । ‘यो १२ दिन अत्यन्तै पीडा भयो,’ घिसिङले भने, ‘हामीलाई यो १२ दिन इंगेज गराएर राख्नुभयो । हाम्रा धेरै साथीहरूलाई रास्वपा प्रवेश गराउनुभयो ।’
आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पद नमागेको बरु साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताउँदा पनि रास्वपाले नमानेको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष मागेको थिइनँ । साधारण सदस्य भएर बस्छु भन्दा पनि उहाँहरू मान्नुभएन,’ उनले भने, ‘अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हामी नभए पनि अगाडि बढ्छौँ भन्नुभएछ ।’
घिसिङले रास्वपालाई अगाडि बढ्न शुभकामना दिँदै उज्यालो नेपालले अब आफ्नै बाटो लिने स्पष्ट पारे । ‘हामी अत्यन्तै लचक भएका थियौँ,’ उनले भने, ‘अब उज्यालो नेपालले आफ्नो बाटो आफैँ लिन्छ ।’
प्रतिक्रिया