+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा कांग्रेसले भन्यो : विशेष महाधिवेशनमा सहभागी हुनुस्

पालिका लाइभ
२०८२ पुष २५, शुक्रबार

गोरखा– नेपाली कांग्रेस, गोरखाले पार्टीको विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित कांग्रेस गोरखाका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ गते तय गरिएको विशेष महाधिवेशनलाई पार्टी सुधार र एकताको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै प्रतिनिधिलाई उपस्थित हुन आह्वान गरेका हुन्।

विज्ञप्तिमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र नम्बर–२ का सभापति गोविन्द गुरुङ तथा प्रदेशसभा क्षेत्रका सभापतिहरू ठाकुर भट्ट, दीर्घमान गुरुङ, दिनेश खनखवास र खुनप्रसाद रेग्मीको हस्ताक्षर छ।

यसैगरी पालुङटार नगरपालिका सभापति विमल ढकाल, धार्चे गाउँपालिका सभापति सन्तबहादुर गुरुङ, सिरानचोक गाउँपालिका सभापति भक्तबहादुर गुरुङ, आरुघाट गाउँपालिकाका सभापति राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका सभापति जीतबहादुर घले, सहिदलखन गाउँपालिकाका सभापति काशीनाथ अम्गाईं, भीमसेन थापा गाउँपालिकाका सभापति नारायणप्रसाद भट्टराई, गण्डकी गाउँपालिकाका सभापति होमबहादुर राना, अजिरकोट गाउँपालिकाका सभापति जंगबहादुर गुरुङ र चुमनुब्री गाउँपालिकाका सभापति सूर्यबहादुर गुरुङले समेत विज्ञप्तिमा हस्ताक्षर गर्दै विशेष महाधिवेशनमा सहभागिता जनाउन अनुरोध गरेका छन्।

तर जिल्लाका ११ पालिकामध्ये गोरखा नगरपालिकाका सभापति चन्दनबहादुर खत्रीले भने विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन्। खत्री गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेनिकट मानिन्छन्। मुख्यमन्त्री पाण्डे सभापति शेरबहादुर देउवानिकट नेता हुन्।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय गरिएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत विशेष महाधिवेशनमा सहभागी भई पार्टीलाई समयसापेक्ष रूपमा अघि बढाउन प्रतिनिधिहरूलाई आह्वान गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ