काठमाडौं– कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेश र स्थानीय तहमा देखिएका कानुनी तथा व्यवहारिक समस्याहरू समाधान गर्न संघ सरकारलाई आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू तत्काल अघि बढाउने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधवार साँझ बसेको बैठकले प्रदेशभर स्थानीय तहमा देखिएका सीमा व्यवस्थापन, वन क्षेत्रमा ढुंगा–गिटीको राजस्व संकलन तथा ठेक्का प्रक्रियामा देखिएका समस्यालाई कानुनी रूपमा समाधान गर्ने निष्कर्ष निकालेको हो।
पछिल्लो समय कतिपय स्थानीय तहले ढुंगा–गिट्टीको ठेक्का लगाउन नसक्दा ठुलो मात्रामा राजस्व गुमिरहेको विषय उठेपछि यसलाई छिट्टै सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
बैठकले आयोजना बैंकलाई प्रदेशका सबै स्थानीय तहसम्म पहुँच पुग्ने गरी निर्माण गर्ने र त्यहाँ समावेश भएका अनावश्यक आयोजनाहरू हटाई व्यवस्थित बनाउने निर्णय पनि गरेको छ। प्रदेश सरकारले लगानी सम्मेलनमार्फत अघि सारेका परियोजनामा स्थानीय तहले समेत आवश्यक सहयोग र समन्वय गर्ने सहमति भएको छ।
प्रदेश सरकारले अघि सारेका ५१ परियोजनामध्ये हालसम्म २४ वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिइएको छ।
प्रदेशमा देखिएको कर्मचारी व्यवस्थापनको समस्या समाधान गर्दै स्थानीय तहमा नयाँ कर्मचारी भर्ना प्रक्रिया पनि व्यवस्थित र द्रुत गतिमा अघि बढाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसालले जानकारी दिए।
बैठकमा संघीय सरकारले करारका कर्मचारी हटाउने विषयमा जारी गरेको परिपत्रप्रति केही स्थानीय तहका प्रतिनिधिले आपत्ति जनाएका थिए। उनीहरूले हचुवाको भरमा आएको निर्णयका कारण सेवा प्रवाहमा समस्या आएको भन्दै तत्काल पुनरावलोकनका लागि संघ सरकारलाई सुझाव पठाउनुपर्ने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अघि सारेका नयाँ योजना तथा कार्यक्रमलाई सफल बनाउन स्थानीय तहको सक्रिय सहयोग अपरिहार्य रहेको बताए।
उनले प्रदेश सरकारको पहलमा निर्माण भइरहेको पदमार्ग, पर्यटन वर्षका कार्यक्रम र लगानी सम्मेलनमार्फत अघि बढाइएका परियोजनालाई प्रभावकारी बनाउन स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिए। साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर सञ्चालन गरिएका कार्यक्रमहरूलाई सफल बनाउन सबै पालिकाले सहयोग गर्नुपर्ने उनको आग्रह थियो।
प्रतिक्रिया