+
Search

ताजा अपडेट +

पपुलर +

सभापति को बन्नुछ बन्नुस्, म विष पिएर भएपनि पार्टी एकता जोगाउँछु- गगन थापा

पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता जोगाउन आफू कुनै पनि त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन्।

पार्टीभित्र देखिएको असहज अवस्था र नेतृत्वलाई लिएर उठिरहेका बहसका बीच थापाले नेपाली कांग्रेस फुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परे व्यक्तिगत पीडा सहन समेत तयार रहेको बताएका हुन्।

बुद्धिजीवीहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले आफू सभापति बन्न हतारिएको वा त्यसका लागि विशेष महाधिवेशन माग गरेको भन्ने बुझाइ गलत भएको बताए।

उनले विशेष महाधिवेशन भए त्यसबाट जो सभापति बने पनि आफूले स्वीकार गर्ने स्पष्ट पारे। आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि कसैलाई हटाएर सभापति बन्न खोजेको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको उनको भनाइ थियो।

‘हामीलाई हतार–हतार कसैलाई हटाएर सभापति बन्न खोजेको भन्ने ढंगले बुझियो,’ थापाले भने, ‘हामीलाई बन्नै छैन बाबा सभापति। को बन्न चाहन्छ बन्नुस्। डा. शेखर कोइरालालाई बन्नु छ भने बन्नुस्, अर्को नेताले बन्नु छ भने पनि बन्नुस्। विशेष महाधिवेशनबाटै सभापति छान्नुस्, हामी स्वीकार गर्छौं।’

थापाले विशेष महाधिवेशनको कुरा सत्ता वा पद प्राप्तिका लागि नभई पार्टीलाई सही दिशामा उभ्याउनका लागि अघि सारिएको दाबी गरे। पार्टीभित्र देखिएको असन्तुष्टि, भ्रम र असहज अवस्थालाई समयमै सुधार नगरे कांग्रेस थप संकटतर्फ जान सक्ने उनले चेतावनी दिए।

उनले जेनजी आन्दोलन हुनुमा कांग्रेस स्वयंको कमजोरी पनि कारण बनेको स्वीकार गर्दै आत्मआलोचनात्मक धारणा राखे। ‘भदौ २३ र २४ गतेअघि हामी ठिक थिएनौँ,’ उनले भने, ‘हामी उभिएको ठाउँ ठिक थिएन, हाम्रो गति र दृष्टिकोण ठिक थिएन। नागरिकको रिस त्यसै आएको होइन, त्यसका कारण र आधार छन्। ती कुरा हामीले गम्भीर रूपमा बुझ्नुपर्छ।’

यस्तै, बुधवार कांग्रेस नेता चन्द्र भण्डारी र सुनिलकुमार शर्मासँगको छलफलमा पनि महामन्त्री थापाले पार्टीलाई समयसापेक्ष बनाउने अभियानकै क्रममा अहिले विभिन्न प्रश्नहरूको उत्तर खोज्ने प्रयास भइरहेको बताए। पार्टीभित्र मतभेद र आलोचनाबीच पनि कांग्रेसलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

पार्टीभित्र अत्यन्तै अप्ठ्यारो अवस्था आए आफूले व्यक्तिगत रूपमा पीडा सहन तयार रहेको उल्लेख गर्दै थापाले भने, ‘कसैले चाहेर नेपाली कांग्रेस फुट्दैन। कतिपयले पार्टी फुट्छ भनिरहेका छन्, तर तपाईंहरूलाई साक्षी राखेर भन्छु- यदि त्यति अप्ठ्यारो अवस्था आयो भने बरु म विष पिउँला, तर पार्टी एकता जोगाउँछु।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ