+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, यी हुन् एमालेका राष्ट्रिय सभाका उम्मेदवार

पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभाका लागि हुने आगामी निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ।

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गर्ने सहमति भएसँगै भागबन्डाअनुसार एमालेले पाउने सात सिटका लागि उम्मेदवार चयन गरिएको हो।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचेलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

बागमती प्रदेशमा डा. प्रेमकुमार दङ्गाललाई अघि सारिएको छ। त्यसैगरी गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाइएको छ। कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवारका रूपमा चयन गरिएको छ। मधेश प्रदेशका लागि भने उम्मेदवारको नाम अझै टुंगो लाग्न बाँकी रहेको एमालेले जनाएको छ।

राष्ट्रियसभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभाका कुल १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। जसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेकाले बाँकी १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधवार) देशभर उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ। दलहरूबीचको तालमेल र सिट बाँडफाँटअनुसार प्रतिस्पर्धा हुने यो निर्वाचनलाई राष्ट्रियसभाको शक्ति सन्तुलन निर्धारण गर्ने महत्त्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ