+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभा निर्वाचन :

१८ सिटका लागि आज मनोनयन, वामदेवदेखि नारायणकाजीसम्मका १९ सांसदको विदाइ तय

यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सांसद

पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– राष्ट्रियसभाको संरचना फेरिने समय नजिकिँदै गर्दा आगामी फागुनमा १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये १८ सिट रिक्त हुने भएपछि त्यसका लागि माघ ११ गते निर्वाचन हुँदैछ भने निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ।

पदावधि सकिन लागेका १९ सिटमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो भने बाँकी एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। आगामी फागुनदेखि राष्ट्रियसभाबाट एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एक जना मनोनीत सांसद बिदा हुँदैछन्।

दलगत रूपमा हेर्दा एमालेका ८, नेकपा (माओवादी केन्द्र) का ८, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र एक जना राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिन लागेको हो। यस सूचीमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम पनि पर्छन्, जो राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन्। उनको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ सांसद मनोनयन गर्नेछन्।

कार्यकाल पूरा गरेर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल रहेका छन्। बेदुराम भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य बनेका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए।

त्यसैगरी एमालेबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिन लागेको छ। जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि आगामी फागुनसँगै राष्ट्रियसभाबाट बाहिरिनेछन्।

सरकारले माघ ११ गते आइतबारलाई राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ। कुल ५९ सदस्यीय राष्ट्रियसभामध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपासहितका प्रमुख दलहरूले सिट बाँडफाँट गरेर प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। सोही रणनीतिअनुसार आज उम्मेदवारी दर्ता गराउने उनीहरूको तयारी छ। रोचक पक्ष के छ भने कार्यकाल सकिन लागेका १९ सांसदमध्ये एक जना पनि नेपाली कांग्रेसका छैनन्। यद्यपि, मतभारका हिसाबले कांग्रेस हाल राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा बलियो अवस्थामा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ