+
Search

ताजा अपडेट +

पपुलर +

तीन शक्तिशाली मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिँदै

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चौतर्फी राजनीतिक र नैतिक दबाबका बीच मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्।

उनले आज राति ९ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेर उज्यालो नेपाल पार्टीका उपसभापति बनेपछि घिसिङमाथि मन्त्री पदबाट बाहिरिनुपर्ने दबाब तीव्र बन्दै गएको थियो। अन्तरिम सरकारका मन्त्री भएर पनि निर्वाचन प्रक्रियामा सक्रिय देखिएको भन्दै उनीमाथि आलोचना हुँदै आएको थियो।

बुधवार दिनभर घिसिङले पार्टीका नेताहरू, मन्त्रालयका उच्च कर्मचारी तथा निकट सहयोगीसँग राजीनामाको विषयमा छलफल गरेका थिए। उज्यालो नेपाल पार्टीभित्रका केही नेताले तत्काल राजीनामा नदिन सुझाव दिए पनि उनले त्यसलाई अस्वीकार गर्दै अब पदमा बसिरहन उपयुक्त नहुने निष्कर्ष निकालेको स्रोत बताउँछ। ‘बाहिर राजीनामा दिनुपर्ने कुरा उठिसकेपछि अब मन्त्री पदमा बसिरहनु ठिक हुँदैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो,’ घिसिङ निकट एक नेता भनछन् ।

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा घिसिङ पहिलो चरणमै मन्त्री बनेका थिए। भदौ ३० गते उनले ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हालेका थिए भने रामेश्वर खनाल अर्थमन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री बनेका थिए।

स्रोतका अनुसार घिसिङ प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारीमा थिए र त्यसका केही दिनअघि नै राजीनामा दिने सोचमा थिए। तर, गैरराजनीतिक सरकारका मन्त्री भएर पनि चुनावी गतिविधिमा जोडिएको भन्दै नैतिक प्रश्न उठ्न थालेपछि उनले तत्काल राजीनामा दिने निर्णय लिएको बताइन्छ।

मन्त्रालय सम्हालेपछि घिसिङले वर्षौँदेखि अल्झिएका ठुला परियोजना अघि बढाएको दाबी उनका निकटहरूले गरेका छन्। ठुला निर्माण व्यवसायीका ठेक्का तोड्ने, ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता समाधान गर्ने, र लामो समयदेखि रुग्ण अवस्थामा रहेका आयोजनामा गति दिने काम उनले गरेको बताइन्छ।

उनले आफ्नो मन्त्रालयबाहेक अन्य मन्त्रालयसँग जोडिएका संवेदनशील विषयमा पनि भूमिका खेलेको दाबी छ। पासपोर्ट अभावका कारण सेवा अवरुद्ध हुने अवस्थामा पुगेको बेला ७ लाख थान पासपोर्ट आपूर्तिको व्यवस्था मिलाउन र मेलम्ची खानेपानी आयोजना स्थानीय अवरोधका कारण रोकिएको अवस्थामा समस्या समाधान गर्न पनि उनले पहल गरेको निकटवर्तीहरू बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ