+
Search

ताजा अपडेट +

पपुलर +

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।

उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।

गैरराजनीतिक अन्तरिम सरकारमा रहेर पनि राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै उठेको चौतर्फी दबाब र नैतिक प्रश्नका बीच घिसिङले पदबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर उपसभापति बनेपछि उनीमाथि राजीनामा दिनुपर्ने आवाज चर्किँदै गएको थियो।

घिसिङले पत्रकार सम्मेलनमा आफ्नो निर्णय व्यक्तिगत स्वार्थभन्दा लोकतान्त्रिक मूल्य र राजनीतिक नैतिकतालाई ध्यानमा राखेर लिएको बताए। उनले सरकार र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै मन्त्रालयमा रहँदा गरेका काम र उपलब्धिबारे पनि जानकारी गराए।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा घिसिङ पहिलो चरणमै मन्त्री बनेका थिए। उनले मन्त्रालय सम्हालेपछि ठुला पूर्वाधार परियोजनामा गति, वर्षौँदेखि अल्झिएका ठेक्कामा निर्णय र सेवा प्रवाह सुधारका काम अघि बढाएका थिए।

उनको राजीनामासँगै अन्तरिम सरकारको संरचना र आगामी राजनीतिक समीकरणबारे थप बहस सुरु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ