+
Search

ताजा अपडेट +

पपुलर +

आजसम्म म कुनै पनि पार्टीको सदस्य छैन : कुलमान घिसिङ

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङले अहिलेसम्म आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजनीतिक हैसियतबारे उठिरहेका प्रश्नहरूको जवाफ दिँदै आफू कुनै पनि पार्टीमा आबद्ध नभएको दाबी गरेका हुन्।

उनको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरिएको भए पनि सो पार्टीसँग आफ्नो औपचारिक सदस्यता नरहेको घिसिङको भनाइ छ।

पुस २४ गते उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेपछि घिसिङको राजनीतिक संलग्नताबारे बहस चर्किएको थियो। उक्त एकतासम्बन्धी सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर गर्ने क्रममा घिसिङ पनि उपस्थित थिए।

यसै विषयलाई लिएर विभिन्न राजनीतिक दल तथा नागरिक समाजबाट मन्त्री घिसिङले सरकारबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ। पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै घिसिङले भने, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

उनले आफ्नो उपस्थिति र राजनीतिक गतिविधिलाई पार्टी सदस्यतासँग जोडेर हेर्नु गलत हुने संकेत गरेका छन्।

यता प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न चाहने मन्त्रीहरूलाई स्पष्ट निर्णय लिन निर्देशन दिएकी छन्।

निर्वाचन नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा सक्रिय भएको र दलमा आबद्ध भएको चर्चा बढेपछि प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा उनीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी हुन्।

प्रधानमन्त्रीको सो निर्देशनपछि मन्त्री घिसिङसहित केही मन्त्रीहरूको भूमिकालाई लिएर सरकारभित्र र बाहिर थप चर्चा चुलिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ