+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटमा कोदोको रक्सीलाई व्यवस्थित बनाउने तयारी, उत्पादन र ब्रान्डिङबारे अन्तरक्रिया

पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

गोरखा– अजिरकोट गाउँपालिकामा स्थानीय मदिरा (कोदोको रक्सी) उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरण व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको रक्सीलाई व्यवस्थित, कानुनी र बजारमुखी बनाउँदै स्थानीय अर्थतन्त्रसँग जोड्ने विषयमा व्यापक छलफल भएको हो ।

अन्तरक्रियामा गाउँपालिका अध्यक्ष दीपक देवकोटाले अजिरकोटमा उत्पादन हुने कोदो र त्यसबाट तयार गरिने परम्परागत मदिरा उपभोगको विषय मात्र नभई रोजगारी, आम्दानी र स्थानीय पहिचानको महत्त्वपूर्ण आधार बन्न सक्ने बताए। उनले लामो समयदेखि घरेलु रूपमा उत्पादन हुँदै आएको कोदोको रक्सीलाई अब अव्यवस्थित र लुकेर होइन, नीतिगत व्यवस्था गर्दै खुला र व्यवस्थित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

‘हाम्रो गाउँमा उत्पादन हुने कोदो र त्यसबाट बनाइने रक्सी आफैँमा एउटा पहिचान हो, उनले भने, ‘यसलाई व्यवस्थित गरेर ब्रान्डको रूपमा विकास गर्न सके किसान, महिला समूह र युवाहरूलाई प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर सिर्जना हुन्छ।’

उनका अनुसार गाउँपालिकाले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि परम्परागत सीप र उत्पादनलाई आधुनिक प्रविधि, गुणस्तर मापदण्ड र कानुनी व्यवस्थासँग जोड्न आवश्यक रहेको उनले बताए। ‘उत्पादनसँगै प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण र बजार व्यवस्थापनसम्म स्पष्ट नीति आवश्यक छ,’ उनले जोड दिए।

कार्यक्रममा सहभागी स्थानीय किसान, महिला उद्यमी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले कोदो खेतीको अवस्था, कच्चा पदार्थको उपलब्धता, उत्पादन प्रविधि र बजार पहुँचमा देखिएका समस्या तथा सम्भावनाबारे धारणा राखेका थिए। सहभागीहरूले हाल घरेलु रूपमा कोदोको रक्सी उत्पादन गर्दा कानुनी अस्पष्टता, बजार अभाव र उचित मूल्य नपाउने समस्या रहेको बताएका थिए।

अन्तरक्रियामा कोदोको रक्सीलाई स्थानीय ब्रान्डका रूपमा विकास गर्न सहकारी वा समूहगत मोडेल अपनाउन सकिने, सामूहिक उत्पादन केन्द्र स्थापना गर्न सकिने तथा स्थानीय होटल, होमस्टे र पर्यटनसँग जोडेर बिक्री–वितरण गर्न सकिने विषयमा पनि छलफल गरिएको थियो। विशेषगरी अजिरकोटमा विकास हुँदै गएका होमस्टे र ग्रामीण पर्यटनसँग स्थानीय मदिरालाई जोड्न सके यसको आर्थिक प्रभाव अझ व्यापक हुने सहभागीहरूको निष्कर्ष थियो।

संघीय तथा प्रदेशस्तरका कानुनअनुसार मदिरा उत्पादन र बिक्री–वितरण सम्बन्धी कानुनी प्रक्रिया, मापदण्ड र सम्भावित मोडेलबारे जानकारी गराएका थिए। आगामी दिनमा नीतिगत स्पष्टता, तालिम, प्राविधिक सहयोग र पाइलट परियोजनामार्फत कोदोको रक्सी उत्पादनलाई व्यवस्थित गर्ने तयारी गाउँपालिकाको रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ