+
Search

ताजा अपडेट +

पपुलर +

स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्री घोषणा गर्दै रवि लामिछानेले भने- बजेट लेख्न सुरु गर्नुस्

पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेका छन्।

सोमबार आयोजित एक कार्यक्रममा पार्टीका उपसभापति वाग्लेलाई सम्बोधन गर्दै भने, ‘देशभरबाट जुन उत्साह र ऊर्जा रास्वपाप्रति देखिएको छ, त्यसलाई हेरेर यति चाहिँ भन्न सक्छु, डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जान लागेको रास्वपाले पहिलो पटक डा. वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो।

उनले पुराना दलका नेता-कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

‘हाम्रो एकताले हामीमाथि जिम्मेवारी थपिएको छ। अब हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौँ,’ उनले भने।

उनले अगाडि भने, ‘हामी मिलेपछि पपुलिस्टहरू मिले भनेर गाली गरेको सुन्नमा आएको छ। हाम्रा नेताहरूलाई गाली गरेर कोही तृप्त हुन्छन् भने उनीहरूलाई तृप्त हुन दिनुस्।’

उनले आफू जेलमा रहँदा थुप्रै व्यक्ति र समूह भेट्न आउने गरेको उल्लेख गर्दै आफैले चाहेर भेटेको भने थरुहट आन्दोलनमा लागेकाहरू भएको बताए।

उनले पुराना राजनीतिक दलहरूलाई अक्षमता स्विकार्न पनि अनुरोध गरेका छन्।

‘पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्विकार्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु। उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्विकार्नुस् आफ्नो अक्षमतालाई स्विकार्नुस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ,’ उनले भने।

उनले अगाडि भने, ‘जति तपाईँहरूले पछिल्लो समय कुशासनको चपेटामा मुलुकलाई यो अवस्थामा पुर्‍याउनुभयो। अब थप गए गुज्रेको बहिर्गमनको सपना नदेख्नुस्। अपदस्थताको पराकाष्ठा यसभन्दा पर नसोचिइदिनुस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा लैजान दिनुस्।’

उनले राजनीतिमा कविदेखि मोडलसम्म आएकोबारे प्रस्टीकरण दिएका छन्।

उनले कवि, कलाकार, मोडलहरू राजनीतिमा हस्तक्षेप गर्न बाध्य भएर आएको बताएका छन्।

‘कविहरू आए, कलाकारहरू आए, मोडलहरू आए भनेर चिन्ता लिनुभएको छ। के कविलाई कविता लेख्न छाड्नुपर्‍यो? कलाकारलाई कलाकारिता गरेर खान बस्न दिनुभयो तपाईँहरूले? दिनुभएन। त्यसैले हस्तक्षेप गर्न बाध्य भएका हुन्,’ उनले भने, ‘मुलुक जब अप्ठ्यारो स्थितिमा आउँछ, राजनीति गर्नेहरूले सही राजनीति जब गर्दैनन्, त्यतिखेर देशका हर पेसाकर्मीले हस्तक्षेप गर्नुपर्छ। यो हस्तक्षेप गर्ने बेला हो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ