+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफको २६औँ वार्षिक साधारणसभा, वित्तीय विवरण स्वीकृत

पालिका लाइभ
२०८२ पुष २१, सोमबार

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघाईको अध्यक्षतामा यही पुस १९ गते पर्सास्थित वीरगन्जको होटल भिष्वामा सम्पन्न भएको हो।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको कम्पनीले जनाएको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ।

सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।

साधारण सभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ सेयर धनीहरूलाई लाभांशको रूपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको करसहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाले संस्थापक समूहअन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ। साधारण सभापछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रूपमा चयन गरेको छ।

२०८२ असोज मसान्तसम्ममा कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष २४५ अर्ब रुपैयाँ र सेयरधनी कोष १३ अर्ब बढी छ। कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

यसका साथसाथै कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने १०३ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ