काठमाडौं– आगामी राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूबीच चुनावी तालमेलको प्रयास तीव्र बनेको छ । यही सन्दर्भमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ललितपुरमा भेटवार्ता भएको छ ।
ओली र प्रचण्डबीच भएको भेटमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससहित साझा तालमेल गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । यद्यपि छलफलबाट ठोस सहमति भएको वा नभएकोबारे दुवै पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन् ।
यसअघि पनि ओली–प्रचण्ड भेटवार्ताको तयारी भए पनि प्रचण्ड काठमाडौं बाहिर रहेकाले भेट हुन सकेको थिएन । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार विमान ढिलाइका कारण प्रचण्ड समयमै काठमाडौं नआइपुगेपछि भेट स्थगित भएको थियो । प्रचण्ड आइतबार नयाँ दिल्ली प्रस्थान गर्नुअघि ओलीसँग भेट भएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच निरन्तर छलफल चलिरहेको बताए । कांग्रेससहित तीन दल मिलेर चुनाव लड्ने तयारी हो भन्ने प्रश्नमा उनले भने, ‘कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ । छलफल भइरहेको छ, तर टुंगो लागिसकेको छैन ।’
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत छन्, जसको पुनः मनोनयन सरकारको सिफारिसमा हुने व्यवस्था छ । बाँकी १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २/२ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । प्रमुख तीन दल एक्लाएक्लै चुनाव लड्दा अनिश्चितता र अन्तरघातको जोखिम रहने भन्दै तालमेलको विकल्प खोजिएको नेताहरूको भनाइ छ ।
कांग्रेस र एमाले मिल्दा अन्तरघातको डर र कांग्रेस वा एमालेमध्ये जसले माओवादीसँग तालमेल गरे पनि अर्को पक्षलाई घाटा हुने सम्भावना देखिएकाले तीनै दलबीच सहकार्यको प्रयास अघि बढाइएको बताइन्छ ।
राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा. प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल तथा माओवादी केन्द्रका नेता वर्षमान पुनलगायत नेताहरू दुईपक्षीय र बहुपक्षीय छलफलमा संलग्न छन् । यही पुस २३ गते मनोनयन दर्ताको समय रहेकाले पनि दलहरूबीच संवाद थप बाक्लिएको छ ।
कांग्रेस नेता लेखकले पनि राष्ट्रिय सभा निर्वाचनका विषयमा दलहरूबीच कुराकानी भइरहेको बताए । उनले भने, ‘छलफल भइरहेको छ, तर अहिले नै कुनै निष्कर्ष निस्किएको छैन ।’
प्रमुख तीन दल मिलेर चुनाव लड्दा संविधान निर्माणमा भूमिका खेलेका शक्तिहरू एक ठाउँमा रहेको सन्देश जाने र चुनावी परिणाममा ठुलो उतारचढाव नहुने नेताहरूको बुझाइ छ ।
प्रतिक्रिया