काठमाडौं– गोरखा र लमजुङ जिल्लाका पाँच स्थानीय तहलाई समेट्दै ‘ बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट’ नामक नयाँ पदमार्ग विकास गरिने भएको छ।
नयाँ अन्वेषण गरिएको यस पदमार्गले गोरखाका बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङ जिल्लाका दूधपोखरी, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ।
यो पदमार्गले हिमाली प्राकृतिक सौन्दर्य, ताल–तालैया, संस्कृति र स्थानीय जीवनशैलीलाई एकीकृत गर्दै नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
पदमार्ग विकास कार्ययोजना तयार गर्ने उद्देश्यले गोरखाको अजिरकोट गाउँपालिका–३ भच्चेकमा आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ।
नयाँ पदमार्गको विकास, प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि सरोकारवाला निकायको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पाँचवटै गाउँपालिकाका उपाध्यक्षहरू, पर्यटन उद्यमी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, पशुधन उद्यमी तथा सांस्कृतिक समूहका सदस्य गरी कुल २५ जनाको सहभागिता रहेको थियो।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित तालिममा पदमार्गमा आधारित पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना, सामुदायिक सहभागिता, वातावरणीय संरक्षण र व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।
तालिम समापनका अवसरमा आगामी पाँच वर्षका लागि पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापनसम्बन्धी कार्ययोजना तयार गरी प्रस्तुत गरिएको छ।
यसै अवसरमा २१ सदस्यीय ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन तथा व्यवस्थापन समिति’ गठन गरिएको छ। समितिको नेतृत्व पाँचवटै गाउँपालिकाका उपाध्यक्षहरूले आलोपालो प्रणालीका आधारमा गर्ने व्यवस्था गरिएको छ भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन व्यवसायी तथा सरोकारवाला गरी २० जना सदस्य रहनेछन्। समितिले पदमार्गको दिगो विकास, स्थानीय लाभ सुनिश्चितता र समन्वयात्मक व्यवस्थापनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तालिम समापन कार्यक्रममा नेपाल ट्रेकिङ एजेन्सिस एशोसिएशन (टान) का अध्यक्ष सागर पाण्डे तथा पाँचै गाउँपालिकाका अध्यक्षहरूले नयाँ पदमार्गले स्थानीय पर्यटन, अर्थतन्त्र र पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पदमार्गको सम्भावना, चुनौती र अवसरबारे धारणा राखेका थिए।
नयाँ पदमार्ग विकाससँगै बुद्ध हिमाल र हिमालचुली क्षेत्रलाई समेट्ने यो सर्किटले गोरखा–लमजुङ क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया