काठमाडाैं- कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उपाध्यक्ष नाथसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनार विरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरिएको हो।
आयोगका अनुसार उनीहरूले एक–आपसमा मिलेमतो गरी नभएको घर भएको झुटो कागजात तयार पारेर अभिलेखीकरण गराएको देखिएको छ। आरोपपत्रका अनुसार कञ्चनपुर–बेलडाँडी–२ का शान्ति नाथले घर नभएको जग्गामा पक्की भवन रहेको झुटो नक्सा तयार गराई गाउँपालिकामा प्रमाणित गराएका थिए।
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीले कानुन र मापदण्ड नै नबनेको अवस्थामा ४०० वर्गमिटर क्षेत्रफलको जग्गामा बहुमंजिल्ला पक्की भवन रहेको झुटो विवरणसहित नक्सा अभिलेखीकरण गरेको आयोगले जनाएको छ। सोही नक्साका आधारमा नाथले लक्ष्मी सनराइज बैंक, कञ्चनपुर शाखाबाट जम्मा ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएका थिए।
यद्यपि, आयोगले स्थलगत निरीक्षण गर्दा सो जग्गामा कुनै पनि प्रकारको पक्की संरचना नभएको स्पष्ट भएको छ। नापी कार्यालय, बेलौरीले तयार पारेको प्रतिवेदनमा पनि जग्गामा घर नै नभएको प्रस्ट उल्लेख छ।
आयोगका अनुसार झुट्टा नक्सा तयार गर्ने, गलत कागजात प्रमाणित गर्ने र बैंक ऋण लिन प्रयोग गराउने कार्यमा प्रतिवादीहरू आपसमा मिलेमतोमा संलग्न रहेको प्रमाणित भएकाले उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया