काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् ।
आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रमा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन् ।
यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई बराबरी प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच केहीबेर भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया