काठमाडौं– नागढुंगा–मुग्लिन सडक निर्माणका क्रममा दैनिक पाँच घण्टा सवारीसाधन पूर्ण रूपमा बन्द गरेर काम गरिने भएको छ।
निर्माण कम्पनीले अत्यधिक ट्राफिकका कारण काम सुचारु गर्न कठिनाइ भएको बताएपछि सडक केही समयका लागि बन्द गरेर निर्माण अघि बढाउने निर्णय भएको हो।
आयोजनाले नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आंशिक रूपमा बन्द रहने जानकारी सार्वजनिक गर्दै मंसिर २४ गतेदेखि पुस १ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि बेलुका ३:३० बजेसम्म सवारी आवागमन रोक्ने जनाएको छ। विशेषगरी नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा निर्माण कार्यको तीव्रता बढाइने भएको छ।
नागढुंगा–पिप्लामोड खण्ड साँघुरो भएको र कालोपत्रे कार्यका लागि धेरै भारी उपकरण तथा ढुवानीका साधन एकैपटक परिचालन गर्नुपर्ने भएकाले आवागमन रोक्नु अपरिहार्य रहेको आयोजनाले जनाएकाे छ। यससँगै धादिङको गल्छी–गजुरी बीचको पोखरेभिर क्षेत्र जोखिमपूर्ण भएकाले त्यहाँ सडक चौडाइ विस्तारका लागि पनि सडक बन्द गरिनेछ।
यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र निर्माण व्यवसायीबीच तीन सिफ्टमा काम गर्नेबारे छलफल भए पनि कम्पनीले अहिले चलिरहेको दुई सिफ्टमै पर्याप्त काम गर्न नपाएकाले आवागमन केही समय रोकिएमा काम समयमै सकिने धारणा राखेको थियो। त्यसपछि मन्त्री घिसिङले केही समय यातायात बन्द गर्ने व्यवस्था मिलाइने बताएका थिए, जसअनुसार अहिले बाटो बन्दको प्रक्रिया अघि बढाइएको हो।
सडक बन्द रहने समयमा साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। सीतापाईला–रामकोट–भिमढुंगा–धार्के, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी मार्ग तथा जरेखेतस्थित त्रिशुली पुल हुँदै घाटबेंसीतर्फ जाने मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सकिनेछ।
भारी सवारीसाधनका लागि विभिन्न बिन्दुमा रोक्ने व्यवस्था गरिने छ। काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा, मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारीसाधन खानीखोला र जुंगेखोला (थाक्रे) मा रोकिने छन्। त्यसैगरी नौबिसेबाट मुग्लिङतर्फ जाने भारी सवारीसाधन गल्छी, बैरेनी र मासटारमा र मुग्लिङबाट नौबिसेतर्फ आउने सवारीसाधन मलेखुमा रोकिनेछन्।
प्रतिक्रिया