+
Search

ताजा अपडेट +

पपुलर +

महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे

पालिका लाइभ
२०८२ मंसिर २१, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाको गौरवको योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत हालसम्म ५५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

पूर्वाधार सुधार गरी सडकलाई धुलोरहित बनाउने यो बहुवर्षीय योजना हो । तीन वर्षसम्म निरन्तर चल्ने यस कार्यक्रमको कुल लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान महानगरले गरेको छ ।

वडाबाट प्राप्त मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने यस कार्यक्रममा सडकका खाल्डाखुल्डी पुर्ने मर्मत गर्ने कालोपत्रे गर्ने तथा आवश्यकताका आधारमा ढलान र ढल मर्मत गर्ने जस्ता कार्यहरू समावेश छन् । समग्रमा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यो कामका लागि काठमाडौंलाई ४ भाग (प्याकेज) मा विभाजन गरिएको छ । सार्वजनिक खरिद प्रक्रियामार्फत प्रतिस्पर्धामा छानिएका निर्माण कम्पनीहरूलाई कामको जिम्मा दिइएको महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार पूर्वी क्षेत्रको प्याकेजअन्तर्गत वडा नं. ६,७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडाहरू पर्छन् । यी वडाहरूमा काम गर्न करिब ९० करोड रुपैयाँको लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट ७९ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको जिम्मा ‘वल्र्डवाइड–कोहिनुर–रमिता जेभी’ ले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो भने सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहेको छ।

योजनाका पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर सन्दीप ढकालका अनुसार हालसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ । जसअन्तर्गत वडा नं. ६ को सिमलटार पाटीटार नयाँ बस्ती तीनचुली आरुबारी हुँदै बौद्धसम्मको भित्री सडक कालोपत्रे गरिएको छ । त्यस्तै वडा नं. ९ को बत्तीसपुतली क्षेत्र वडा नं. ३२ को महादेवस्थान कोटेश्वर बालकुमारी पुलदेखि दोभान पुलसम्मको करिडोर र पेप्सीकोला प्लानिङभित्रका सडकहरू कालोपत्रे भएका छन्। सूर्यकोट र गैरीगाउँका विभिन्न भित्री सडकहरूको कालोपत्रे गर्ने काम पनि सकिएको छ ।

पश्चिम क्षेत्रमा वडा नं. १३ १४ १५ र १६ पर्छन् । ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस क्षेत्रका लागि ‘पीआर के एन्ड के जी एन्ड अम्बुजा’ सँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८२ वैशाख ४ गते कार्यादेश दिइएको छ भने कामको म्याद २०८४ वैशाख मसान्तसम्म रहेको छ ।

यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर माधव काफ्लेका अनुसार ४ वटा प्याकेजमध्ये यसमा सबैभन्दा पछि सम्झौता भएकाले हालसम्म डेढ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । तर करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ ।

यस प्याकेजमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै चोकसम्मको १ हजार १६० मिटर लामो सडक विष्णुमती करिडोरअन्तर्गत वडा नं. १३ १४ १५ र १६ का क्षेत्र कुलेश्वर–टेकु सडक भगवती मन्दिर (कुमारी क्लब) कुलेश्वर लिंक मार्ग र शीतला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग) सम्म काम हुनेछ । त्यस्तै सोह्रखुट्टे–पकनाजोल चाक्सीबारीदेखि जेपी चोक कुलेश्वर फलफूल बजार बालाजु हाइटको गणेश मन्दिरदेखि नागार्जुन पर्खालसम्म शीतला मार्गदेखि पहिरा लिंक मार्ग उमा महेश्वर मार्ग रवि भवन र बल्खुको सर्भिस ट्र्याकसहितका सडकहरूमा निर्माण कार्य हुन महानगरले जनाएको छ।

उत्तर क्षेत्रमा वडा नं. १ २ ३ ४ ५ २६ २८ २९ र ३० पर्छन् । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा ‘ढुकुछु–आरए जेभी’ सँग सम्झौता भएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो र यसको अवधि २०८३ असार मसान्तसम्म रहेको छ ।

मध्य क्षेत्रमा भित्री वडाहरू (वडा नं. ११ १२ १७ १८ १९ २० २१ २२ २३ २४ २५ र २७) पर्छन् । यसका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने ‘अर्याल–युएसजी–आरएस लक्ष्मी जेभी’ ले ठेक्का पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म छ ।

यस क्षेत्रमा हालसम्म ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । फोकल पर्सन इन्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम भएको छ । वडा नं. ११ का सूर्य मार्ग समिति मार्ग कारागार मार्ग र कुमारी समिति मार्ग; वडा नं. १२ १७ १८ १९ र २० छुने विष्णुमती करिडोर; वडा नं. १२ को पचली भैरव सडक र परिसर; वडा नं. १७ को इखापोखरी–क्षेत्रपाटी सडक क्षेत्रपाटी–ढल्कु सडक र वडा नं. २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ ।

यस्तै वडा नं. ११ को भोटेबहाल–पीपलबोट सडक वडा नं. १२ मा पर्ने टेकु ट्रान्सफर स्टेसन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ । अब वडा नं. ११ को नदी करिडोरमा कालोपत्रे वडा नं. २१ मा ढल तथा सडक निर्माण र वडा नं. २३ तथा २७ मा ढुङ्गा छाप्ने कार्य सुरु हुन लागेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ