काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन्।
सर्लाही पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब केही दिनमै देशभर दौडाहमा निस्कने जानकारी दिएका छन्।
उनले भने, ‘अधिवेशनको प्रक्रिया अघि बढ्दै गएको अवस्थामा यसको सामना कसरी गर्ने भन्ने विषयमा म स्वाभाविक रूपमा पार्टीका अन्य साथी, नेताहरूसँग र आफूलाई सहयोग गर्ने साथीहरूसँग छलफल गर्छु। त्यसपछि औपचारिक निर्णय गर्ने प्रक्रिया अघि बढ्छ। म १५औँ महाधिवेशनको कांग्रेसको सभापतिको उम्मेदवार बन्ने तयारी गर्दैछु।’
थापाले पार्टीका साथीहरूले महाधिवेशनबाट नयाँ सन्देश, नीति र नेतृत्व चयन गर्नुपर्ने विश्वास व्यक्त गरेकाे र आफूलाई त्यस जिम्मेवारी दिने कुरा विश्वासको विषय भएको बताए। उनले सबै साथीभाइसँग सल्लाह गरेर औपचारिक निर्णय टुङ्ग्याउने जानकारी दिँदै, अहिलेको अवस्थामा भने १५औँ महाधिवेशनको सभापति पदको उम्मेदवार रहेको स्पष्ट पारे।
उनले अब सभापतिको तयारीको क्रममा नेता तथा कार्यकर्ताको विचार बुझ्न केही दिनपछि देशभर भ्रमण गर्ने योजना रहेको बताए। उनले पार्टीको अधिवेशनको निर्णय र तयारी निर्वाचनसँग सम्बन्धित रहेको पनि बताए।
गगनले कांग्रेस भित्र अधिवेशनसँग सम्बन्धित केही मतभेद भए पनि त्यसलाई समझदारीमा टुङ्ग्याएको र अधिवेशनका प्रारम्भिक असमझदारीलाई निर्वाचनसँग अलग राखेर हेर्नुपर्ने बताए।
उनले फागुन २१ मा चुनाव गर्न सरकारसँग अर्को विकल्प नभएको पनि स्पष्ट पारे।
उनले संविधानमा ठूलो क्षति पुगेको उल्लेख गर्दै फागुन २१ को चुनावले त्यसलाई बढ्न नदिने सुनिश्चित गर्ने बताए। साथै कांग्रेस पार्टी निर्वाचनका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र औपचारिक निर्णयहरू भइसकेका छन्।
तर, दलहरू तयार भए पनि सरकारले उपयुक्त वातावरण बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका छन्।
प्रतिक्रिया