+
Search

ताजा अपडेट +

पपुलर +

महानगरद्वारा ५२.१२ प्रतिशत खर्च, ७४.१५ प्रतिशत आन्तरिक आय

फाइल तस्बिर
पालिका लाइभ
२०८२ मंसिर १६, मंगलवार २०:१२ गते

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ५२.२३ प्रतिशत खर्च र आन्तरिक आयमा ७४.१५ प्रतिशत नतिजा प्राप्त गरेको छ ।

काठमाडौं प्लाजामा योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको विभागगत वार्षिक समीक्षा कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।

समीक्षामा एकाइका उपनिर्देशक गंगाधर गौतमले प्रस्तुत गरेको प्रगति विश्लेषणपछि उपप्रमुख सुनिता डङ्गोलले, आन्तरिक तथा बाह्य समन्वय र सञ्चारका अभावमा अहिलेकै प्रयत्नले प्राप्त हुने नतिजा पाउन नसकिएको अवस्था महसुस गर्न विभागीय प्रमुखहरूलाई आग्रह गरिन् ।

‘औपचारिक रूपमा बैठक आयोजना गरेर मात्र समीक्षा हुने होइन । विभागगत तथा क्षेत्रगत समस्या र सम्भावनाहरूलाई औपचारिक अनौपचारिक जुनसुकै तरिकाबाट जहिले पनि समीक्षा गर्न सकिन्छ । आपसी संवाद र छलफल गर्न सकिन्छ । यसले आपसी प्रगतिका विषयमा फाइदा हुन्छ’ उनले भनिन्, ‘एकीकृत र दिगो सहरी पूर्वाधारको कुरा गरेको थुप्रै समय भएको छ । अब कुरा गरेर होइन, ड्रइङ्, डिजाइनिङ् र नक्साङ्कनबाटै काम सुरु गर्नुपर्छ ।’

उनले सहरमा बाढीको प्रकोप र जमिनमा पानी पुनः भरणको उदाहरण दिँदै भनिन्, ‘सडक र पैदल मार्ग बनाउँदा पानी पुनः भरण प्रणाली अनिवार्य गरौँ । यसले मानव बसोबास, सहरी व्यवस्थापन र वातावरण लगायत थुप्रै ठाउँमा सकारात्मक नतिजा दिन्छ ।’

प्रस्तुतीकरणमा प्रभावकारी अनुगमन प्रणाली, गुनासो व्यवस्थापन, डिजिटल गभर्नेन्सतर्फको दिगो यात्रा, दण्ड जरिवानाको असुल उपर, सार्वजनिक जग्गाको संरक्षण लगायतका कामलाई असल अभ्यास रूपमा उठान भएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, असल अभ्यासको संस्थागत विकास गर्दै खर्च गर्ने क्षमता बढाउँदै जानु पर्नेमा जोड दिए ।

विभागहरूबाट प्राप्त विवरण प्रस्तुत गर्दै उपनिर्देशक गौतमले यस वर्षका लागि विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपियाँको ५२.१२ प्रतिशत अर्थात् १३ अर्ब ३ करोड ६९ लाख १३ हजार रुपियाँ खर्च भएको जानकारी दिए । यसमा चालुतर्फ ६ अर्ब २२ करोड ९० लाख १६ हजार रुपियाँ र पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७८ लाख ९६ हजार रुपैयाँ र वित्तीय खर्च ७ करोड रुपैयाँ भएको छ ।

वित्त विभागका निमित्त प्रमुख विकास चित्रकारका अनुसार आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको छ ।

गएको वर्ष (आ. व. २०८०/०८१) मा यी क्षेत्रहरूमा क्रमशः ३८.११ प्रतिशत, ६०.३४ प्रतिशत, ४६.३५ प्रतिशत, ३१.६१ प्रतिशत र ७३.१३ प्रतिशत खर्च भएको थियो । यस वर्ष कुल खर्च ५१.०३ प्रतिशत थियो ।

महानगरका बढ्दै गएको कार्यालय खर्च र यसको व्यवस्थापनका विषयमा कुरा गर्दै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, महानगरले सेवा क्षेत्रहरू विस्तार गर्दै गएको, विद्युतीय शासन प्रणालीको अभ्याससँगै परम्परागत प्रक्रियालाई पूर्ण रूपमा छोड्न सकिने अवस्था नरहेकोले खर्च बढेको उल्लेख गरे ।

यस वर्ष आन्तरिक विनियोजित रकम २३ अर्ब ३१ करोड रुपियाँमा ४९.४८ प्रतिशत, सशर्त अनुदानबाट प्राप्त रकम १ अर्ब ६९ करोड रुपियाँको ८८.७० प्रतिशत खर्च भयो । वडा तहका लागि विनियोजन गरी पठाइएको ४ अरब ७३ करोड रुपैयाँको ६०.३८ प्रतिशत खर्च भयो । विभागहरूको औसत खर्च ४६.७ प्रतिशत रह्यो ।

यस वर्ष आन्तरिक राजस्व सङ्कलनको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ थियो । जसको ७४.१५ प्रतिशत अर्थात् ५ अरब ९५ करोड रुपैयाँ सङ्कलन भयो । यो अघिल्लो वर्षको तुलनामा १.५५ कम हो । आन्तरिक आयमा भएको गिरावटका विषयमा राजस्व विभागका प्रमुख दीपक अधिकारीले, बहाल करमा भएको नीतिगत अस्पष्टताका कारण महानगरपालिकाले प्राप्त गर्नु पर्ने संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमा जम्मा भएकोले लक्ष्य भेट्न कठिन भएको बताए ।

यस वर्ष बाँडफाँडबाट २ अरब ३५ करोड १४ लाख ९६ हजार रुपियाँ प्राप्त भयो । यो लक्ष्यको ९३.९६ प्रतिशत हो । आन्तरिक अनुदानबाट २ अरब ४३ करोड ३८ लाख ६० हजार रुपियाँ प्राप्त भयो । यो लक्षको तुलना १०२.७९ प्रतिशत हो । यस वर्ष लक्ष्यको तुलनामा ६६.७१ प्रतिशत सम्पत्ति कर, ८४.८८ प्रतिशत बहाल कर, ४१ प्रतिशत नक्सा पास दस्तुर र ८७.४५ प्रतिशत सिफारिस दस्तुर प्राप्त भयो ।

यस वर्ष जीवन्त सहर, सुरक्षित वास, सुसंस्कृत समाज, दिगो विकासको लक्ष्य राखिएको थियो । यसअन्तर्गत पूर्वाधार विकास, फोहर मैला व्यवस्थापनमा शून्य उत्सर्जनको लक्ष्य, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन, सहरी हरियाली र विपद् व्यवस्थापनमा लगानी मुख्य कार्यक्रम थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics