+
Search

ताजा अपडेट +

पपुलर +

एकता सभा :

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जनताको फोर्स आवश्यक: प्रचण्ड

पालिका लाइभ
२०८२ मंसिर १५, सोमबार १९:३० गते

विराटनगर– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि सङ्कटमुक्त भइनसकेको अवस्थामा रहेको बताए ।

दाहालले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’

सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’

जनताको तागतले मात्रै साम्राज्यवादीहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो । जेन-जी आन्दोलन पछिको अवस्था सम्झिँदै प्रचण्डले त्यो बेला चारैतिर सन्त्रास भएको बताए ।

कम्युनिस्ट पार्टीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको दाहालको दाबी छ । १६ वटा नेपाली कम्युनिस्ट पार्टी बनेर एउटा पार्टी बनेको इतिहासमा पहिलो चोटि भएको भन्दै उनले थपे, ‘हामी रूपान्तरण भएका छौँ । अब पुरानो तरिकाले चल्दैनौँ, नयाँ तरिकाले जान्छौँ भन्ने सन्देश हो ।’

यो एकतालाई हल्का रूपमा नलिन भन्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

‘हामी त निर्वाचनमा लागि सक्यौँ सरकारले पनि त्यतातिर ध्यान देओस् । यो सरकार पूर्णतया चुनावी सरकार हो । दीर्घकालीन महत्त्वका सन्धि सम्झौतातर्फ नलागोस् ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics