+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, लागत ३ खर्ब ७४ अर्ब

पालिका लाइभ
२०८२ मंसिर ११, बिहीबार १७:५९ गते

काठमाडौं- धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार भएको छ।

आयोजनाको आधारभूत लागत करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ निर्धारण गरिएको छ। निर्माण अवधि ८ वर्ष रहनेछ भने निर्माण अवधिको व्याजसहित कूल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।

आयोजनाको कर्जा र स्वःपूँजी अनुपात ७० र ३० प्रतिशत रहने गरी मोडालिटी तय गरिएको छ। नेपाल सरकारले ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशत शेयर स्वामित्व राख्नेछन्। भविष्यमा आवश्यक परे केही प्रतिशत शेयर सर्वसाधारणलाई जारी गरी कर्जाको भार घटाउने वा सरकारको शेयर पुनर्संरचना गर्ने प्रस्ताव छ।

सरकारी इक्विटीबाट ९७ अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जा १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी हुनेछ। यसका साथै, भन्सार र मूल्य अभिवृद्धि कर, पेट्रोलियम पदार्थको पूर्वाधार करको ५० प्रतिशत रकम समेत आयोजनामा लगानी हुने प्रस्ताव गरिएको छ।

आयोजनाबाट हिउँदयाम १ अर्ब ४१ करोड र वर्षायाम १ अर्ब ९७ करोड युनिट गरी वार्षिक ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने छ। विद्युत् बिक्री दर हिउँदयाम १२.४० र वर्षायाम ७.१० रुपैयाँ प्रति युनिट रहने प्रस्ताव छ। यसरी वार्षिक ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।

आयोजनाको निर्माणका लागि जग्गा प्राप्ति करिब ९० प्रतिशत पूरा भएको छ। मुआब्जा वितरण भइसकेको छ र कुल ८ हजार १ सय १७ घरपरिवार प्रभावित हुनेछन्, जसमा ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रूपमा विस्थापित हुनेछन्।

धादिङ र गोरखामा सीमा भएर बग्ने बूढीगण्डकी नदीमा २६३ मिटर अग्लो आर्च बाँध निर्माण गरिनेछ। आयोजनाले धादिङका ५ र गोरखाका ४ गाउँपालिकालाई प्रभावित गर्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics