काठमाडौं– नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सचिवसहित सबै राष्ट्रसेवक कर्मचारीहरूलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनमा विशेष जोड दिन निर्देशन दिएका छन्।
बुधबार सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले वर्तमान सरकारको सबैभन्दा ठूलो दायित्व र प्राथमिकता निर्वाचन सम्पन्न गराउनु रहेको बताए। उनले यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग सम्बन्धित सबै मन्त्रालय र निकायबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिए।
मुख्यसचिव अर्यालले मुलुकमा सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने, मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिकामा आवश्यक सुधारलाई नेपाल सरकार मन्त्रिपरिषद्को अनुमोदनमार्फत यथाशीघ्र लागू गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले सबैलाई निःसङ्कोच र निर्भय भएर निर्वाचनमा सहभागी गराउन र विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन तथा निर्वाचन आयोगसँग समन्वय गर्न आह्वान गरे।
सुरक्षा निकायलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पनि उनले कर्मचारीहरूलाई दिए। त्यसै गरी, आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको विषयमा समयमै निर्णय गर्न, ढिलाइ नगरी कार्य सम्पन्न गर्न, र अन्य निकायले मागेको राय वा प्रतिक्रिया तोकिएको समयमा उपलब्ध गराउने व्यवस्था कायम गर्न उनले निर्देशन दिए।
सरकारी कार्यालयहरूको सेवा चुस्त र सूचना प्रविधिमा आधारित बनाउन, ढिलासुस्ती रोक्न टोकन प्रणाली वा रिपोर्ट कार्ड लागू गर्न, र सेवाग्राहीले एक पटक पेस गरेको डकुमेन्ट पुनः अर्को कार्यालयमा पेस गर्न नपर्ने व्यवस्था मिलाउन पनि उनले कर्मचारीहरूलाई आग्रह गरे ।
मुख्यसचिवले हाल सीमित मन्त्रालयमा सञ्चालनमा रहेको सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सबै मन्त्रालय र विभागमा चालु आर्थिक वर्षभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, सबै सरकारी कार्यालयका महत्त्वपूर्ण सूचना र अभिलेख डिजिटलाइज गरेर दीर्घकालीन रूपमा सुरक्षित राख्न र सुरक्षा निकायको मनोबल उकास्न आवश्यक छलफल र परामर्श अघि बढाउन आग्रह गरे।
चालु आर्थिक वर्षको नीति, वार्षिक कार्यक्रम र बजेटको कार्यान्वयन तीव्र पार्न, पूँजीगत खर्च उच्च बनाउन, र सार्वजनिक सेवामा गुणात्मक सुधार गर्न उनले सबै मन्त्रालय र निकायलाई निर्देशन दिए। जनताका गुनासोहरू छिटो सम्बोधन गर्ने, हेलो सरकारमार्फत प्राप्त सुझावहरूको प्रभावकारी समाधान गर्ने व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन्।
मुख्यसचिव अर्यालले सरकारी कामको वस्तुगत मूल्याङ्कन गरी प्रोत्साहन र सजायको व्यवस्था गर्न, विगतका राम्रा कामलाई निरन्तरता दिन, कमजोरीबाट पाठ सिकेर कार्य पद्धति सुधार्न र सुशासन र सदाचारलाई प्रशासनिक संस्कृतिको रूपमा स्थापना गर्न आग्रह गरे। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कडाइका साथ लागू गर्न र प्रशासनलाई कुनै पनि किसिमको दबाब वा प्रभावबाट मुक्त राख्न उनले निर्देशन दिए। विकास निर्माणमा अवरोधका विषय पहिचान गरी गुणस्तरीय कार्य सुनिश्चित गर्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह सुधारका विषयलाई उच्च प्राथमिकतामा राखी काम गर्न उनले सबै सचिव र कर्मचारीलाई आह्वान गरे।
यस्तै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई उत्कृष्टता केन्द्रको रूपमा स्थापित गर्दै विकास निर्माण र सेवा प्रवाहको नियमित अनुगमन, मूल्याङ्कन र प्रतिवेदन गर्ने प्रभावकारी निकायको रूपमा स्थापित गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगमा रहेका अनुगमन तथा सहजीकरण संयन्त्रहरूलाई थप क्रियाशील तुल्याउन जोड दिने उनको भनाई छ ।
प्रतिक्रिया