+
Search

ताजा अपडेट +

पपुलर +

सुमनराज अर्याल बने नयाँ मुख्यसचिव

पालिका लाइभ
२०८२ मंसिर ८, सोमबार १६:३३ गते

काठमाडौं– सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

०७७ माघ १९ मा सचिवमा बढुवा भएका उनी काठमाडौं जोरपाटीका हुन्। अर्याल तथ्याङ्क विज्ञ हुन्। उनी असोज पहिलो हप्ता राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए।

मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अवकाश पाउन लागेकाले सरकारले रक्षा सचिव अर्याललाई बढुवा गरेको हो। अर्यालले अबको सात महिना निजामती कर्मचारीको नेतृत्व गर्नेछन्।

२०७७ माघमा सचिवमा बढुवा भएपछि अर्यालले कोसी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए।

२०७७ माघ १९ मा सचिवमा बढुवा भएका शासकीय प्रबन्धका जानकार अर्याल निजामती वृत्तमा भद्र, इमानदार, कर्तव्यनिष्ठ र अध्ययनशील प्रशासक मानिन्छन्।

२०२५ असार २६ गते जन्मिएका अर्याल २०५३ वैशाख १९ गते केन्द्रीय तथ्याङ्क विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए।उनले सचिवमा बढुवा हुनुअघि केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक थिए। विभागलाई अहिले राष्ट्रिय तथ्यांक कार्यालय बनाइएको छ। अर्यालले उमेर हदका कारण २०८३ असार २५ अवकाश पाउनेछन्।

अर्यालसँग खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए।

अर्यालको बढुवासँगै शाक्य, बुर्लाकोटी र कर्णको मुख्यसचिव बन्ने ढोका बन्द भएको छ। अर्यालले अवकाश पाउनुअघि उनीहरू तिनैजनाको सचिवका रूपमा पाँच वर्षे कार्यकाल सकिनेछ। शाक्य २०७८ असार १७ गते, बुर्लाकोटी २०७८ असार २२ र कर्ण २०७८  असार २४ मा सचिवमा बढुवा भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics